निजी अस्पताल र क्लिनिकमा सरकारी डाक्टरको नाम देखिए कारबाही गर्ने मन्त्रालयको चेतावनी

निजी अस्पताल र क्लिनिकमा सरकारी डाक्टरको नाम देखिए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका अस्पतालमा कार्यरत चिकित्सकहरूको नाम निजी अस्पताल र क्लिनिकमा राखे कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले बुधबार सूचना निकालेर सरकारी अस्पतालका केही चिकित्सकको नाम निजी क्लिनिकहरूमा प्रयोग भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आचारसंहिता विपरीतका काम नगर्न चेतावनी दिएको हो।

उकेराले नियमविपरीत सरकारी चिकित्सहरू निजी अस्पताल तथा क्लिनिकमा काम गरेको विषयमा समाचार सम्प्रेषण गरेको थियो।

नेपाल स्वास्थ्य सेवा ऐन २०५३, तथा नियमावली २०५५, जनस्वास्थ्य ऐन, २०७६ तथा नियमावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन २०२२ तथा नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को नियम २२ मा भएको आचारसंहिता उल्लंघन हुने गरी कुनै पनि चिकित्सकले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्नेजस्ता गैरव्यावसायिक र अनैतिक कार्य गर्न नहुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘यस किसिमको कुनै कार्य भए गरेको प्रमाणित हुन आएमा यस मन्त्रालय प्रचलित कानूनबमोजिम कारबाही गर्न बाध्य हुने व्यहोरा समेत अनुरोध छ।’

चैत १६, २०७९ बिहीबार १०:३९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।