सिभिल अस्पतालका कर्मचारीको आन्दोलन फिर्ता, भयो ६ बुँदे सहमति (पत्रसहित)

सिभिल अस्पतालका कर्मचारीको आन्दोलन फिर्ता, भयो ६ बुँदे सहमति (पत्रसहित)

काठमाडौं : निजामती कर्मचारी (सिभिल) अस्पतालमा कार्यरत आन्दोलनरत कर्मचारी र अस्पताल प्रशासनबीच सहमति भएको छ।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्न्त्रालयको उपस्थितिमा अस्पतालका कार्यकारी निर्देशक र आन्दोलनरत पक्षका प्रतिनिधिबीच ६ बुँदामा सहमति भएको हो।

सहमतिअनुसार अस्पताल निजामती कर्मचारी अस्पताल कर्मचारीहरुको सेवाका शर्त र सुविधा विनियमावली र निजामती कर्मचारी अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा आवश्यक संशोधन तथा परिमार्जन प्रक्रिया एक महिनाभित्र पेश गर्ने र सो क्रममा चिकित्सक, कर्मचारी युनियन लगायतको प्रतिनिधिसमेत सहभागी गराइनेछ।

यस्तै, अस्पताल व्यवस्थापन चिकित्सक र कर्मचारी सम्मिलित समितिको प्रतिवेदनको आधारमा स्वीकृत करार कार्यविधिबमोजिम हाल करारमा कार्यरत (परीक्षामा सहभागी नहुनेसमेत) चिकित्सक र कर्मचारी प्राथमिकता दिई सेवाको सुनिश्चितता गर्न अस्पताल विकास समितिमा पेश गर्ने सहमति भएको छ।

अस्पतालको समग्र सुधारका लागि क्वालिटी साइकल बनाएर कार्यन्वयन गर्ने, ज्यालादारी कर्मचारीलाई प्राथमिकतामा राखी स्वीकृत करार कार्यविधि, २०७८ अनुसार स्वीकृत दरबन्दीमा पदपूर्ती प्रक्रिया अघि बढाउने र अस्पतालमा जारी असनन, तालाबन्दी लगायतका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको छ।

अस्पतालमा क्रियाशील आधिकारिक ट्रेड युनियनको अगुवाइमा भएको आन्दोलनमा २ चैतबाट होमिएका कर्मचारीले कार्यकारी निर्देशकको राजीनामा माग गरेका थिए।

अस्पतालले विभिन्न पदका लागि तीन सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल व्यवस्थापन पक्ष र कार्यरत कर्मचारीबीच विवाद उत्पन्न भएको थियो। असन्तुष्ट चिकित्सक, कर्मचारीले अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलको राजीनामा मागेका छन्।

अस्पताल व्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको कर्मचारीको आरोप थियो। दैनिक १५ मिनेट अस्पतालमा धर्नाको कार्यक्रम गरेका कर्मचारी र चिकित्सकले रिले अनसनसमेत राख्दै आएका थिए। अनसनको आज सातौं दिन हो।

कर्मचारीहरूले विरोधस्वरूप अस्पतालको गेटमा कालो ब्यानरमा आफ्ना मागहरू लेखेर टाँसेका थिए।

 

१३ चैत, २०७९, १७:४२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।