सिभिल अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित, कार्यकारी निर्देशकको राजिनामा मागे

काठमाडौं : सिभिल अस्पतालले कर्मचारीको माग गर्दै विज्ञापन गरेको विरोधमा अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन्।
अस्पतालले केही दिन अगाडि विभिन्न पदका ३ सय ५० भन्दा बढी कर्मचारीको माग गरेको थियो।
अस्पताल व्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको भन्दै विभिन्न कर्मचारी र स्वास्थ्यकर्मीका युनियन आन्दोलनमा उत्रिएका हुन्।
बर्षौदेखि कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी कर्मचारीको हित विपरीत ब्यवस्थापनपक्षले एकलौटी रुपमा कर्मचारी भर्ना गर्न लागेको उनीहरूको आरोप छ।
अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासङ्घ र डाक्टर्स एसोसियसन संयुक्त रुपमा आन्दोलनमा उत्रिए पनि उपचारमा कुनै बाधा नपार्ने उनीहरूको दाबी छ।
उनीहरूले अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलको राजीनामा समेत मागेका छन्। पदपूर्तिका लागि खोलिएका विज्ञापन खारेज गर्नुपर्ने, अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीको स्थायित्वको सुनिश्चतता गर्नुपर्ने, विनियमावलीको संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्न, रिक्त दरबन्दीमा ओएण्डएम मात्र गरेर विज्ञापन गर्नुपर्ने उनीहरूको माग छ।
यसैगरी दैनिक ज्यालादारी र सेसनमा कर्मचारी नियुक्ति बन्द गर्न समेत माग गरेका छन्।
२ चैत, २०७९, १८:५५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।