ठगबहादुर केसीले बदनियत अनुसार व्यापारीको ३६ तोला सुन राखेको सीआईबीको निष्कर्ष

ठगबहादुर केसीले बदनियत अनुसार व्यापारीको ३६ तोला सुन राखेको सीआईबीको निष्कर्ष

काठमाडौं : व्यापारीबाट सुन नियन्त्रणमा ल्याएर राख्दा निवासबाट सुनसहित पक्राउ परेका बुटवल ईलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले बदनियत अनुसार नै सुन राखेको खुलेको छ।

व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि ११ पुसमा डिएसपी केसीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले निवासबाटै सुनसहित पक्राउ गरेको थियो। पछि उनलाई निलम्बन गरी छानविन समिति मार्फत अनुसन्धान गरिएको थियो।

छानविन समितिले डिएसपी ठगबहादुर केसीले सुन व्यापारीसँग रितपुर्वक सुन बरामद नगरेको र बदनियत राखेर आफैँले लिन खोजेको निष्कर्ष निकालेको हो।

साथै केसीबारे छानविन गर्न गठित समितिले छानविन पूरा गरि प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई प्रतिवेदन समेत बुझाएको छ। छानविन समितिले सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनुपर्ने भए पनि केसीले बदनियत राखेको निष्कर्ष निकालेको छ।

साथै उनले सुन बरामद गरेपछि प्रचलित कानूनबमोजिम गर्नुपर्नेमा डिएसपी केसीले आफ्नो पदीय दायित्व पूरा गरेको नदेखिएको उल्लेख छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले समितिको सिफारिसअनुसार थप अनुसन्धान र कारबाहीको लागि अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरिएको बताए।

गत मंसिरमा बुटवलका सुन व्यापारी किसन विकको साथबाट ३६ तोला ३२ लाल सुन बरामद गरेपनि केसीले सुनको वैध वा अवैध के हो भन्नेबारे छानविनका लागि मुद्दा नचलाइ आफैँले राखेको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले केसीलाई निवासबाटै पक्राउ गरेको थियो।

सीआईबीको टोलीले विकसँग बरामद गरेको सुन फिर्ता गर्न केसीले लिएको ८ लाख ५० हजार नगद रूपैयाँ र ९ लाख ५० हजार रूपैयाँको चेकसमेत केसीको निवासबाट बरामद गरेको थियो।

फागुन २९, २०७९ सोमबार २०:०५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।