वीरेन्द्रनगर नगरपालिकाले सुरु गर्‍यो अतिविपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम

वीरेन्द्रनगर नगरपालिकाले सुरु गर्‍यो अतिविपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अतिविपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरेको छ।

शुक्रबार वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले चार जना अतिविपन्न परिवारका सदस्यलाई बिमा परिचय पत्र हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेकी हुन्।

नगरपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रूपमा विपन्न नागरिकको स्वास्थ्य बिमा कार्यक्रम गर्न बजेट विनियोजन गरेको थियो।

मेयर ढकालले संविधानमा उल्लेख भएको स्वास्थ्यको मौलिक हकलाई हरेक नागरिकको पहुँचमा पुर्याउन नगरपालिकाले बिमा कार्यक्रमको शुभारम्भ गरेको बताइन्।

उनले भनिन्, ‘स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउँदै नेपालको संविधानले समाजवादको नीति लिए अनुरूप राज्यबाट प्रवाह हुने सेवा सुविधा हरेक नागरिकले सहज पाउनु पर्ने व्यवस्था अनुसार हामीले यो कार्यक्रमको सुरुवात गरेका हौं।’

‘नेपाल सरकारले तोकेको अतिविपन्न पहिचानको मापदण्डलाई अनुसरण गर्दै आर्थिक अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर यसको सुरुवात गरि नागरिकलाई चुलोको सरकार भएको आभास दिलाउन प्रयास गरेका छौं,’ उनले थपिन्।

स्वास्थ्य बिमा बोर्ड कर्णालीसँगको सहकार्यमा नगरपालिकाका १६ वटै वडाका अतिविपन्न परिवारको पहिचान गरी बिमा कार्यक्रममा समावेश गरिने उनको भनाइ छ।

उक्त कार्यक्रम अन्तर्गत नगरपालिकाले हरेक विपन्न परिवारको बिमा गर्दा लाग्ने ३५०० बराबरको रकम तिरी दिनेछ। हालसम्म नगरपालिकामा करिब तीन सय जनाले बिमाका लागि निवेदन दिएका छन्।

२६ फागुन, २०७९, १९:२५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।