अन्य दलले आफ्नो माग पूरा नभएकाले सरकार छाडे, जनमत पार्टी बाहिरिने अवस्था छैनः सीके राउत

अन्य दलले आफ्नो माग पूरा नभएकाले सरकार छाडे, जनमत पार्टी बाहिरिने अवस्था छैनः सीके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरु सरकारबाट नबाहिरिने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राउतले अन्य पार्टीहरु आफ्नो माग पूरा नभएकाले सरकारबाट बाहिरिएको बताए।

उनले भने, ‘अहिले सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन। अरु पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बाहिरिएको हो।’

‘यो भन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो। अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ। सरकार कहाँ बदलिएको छ त? सरकारमा सामेल भएका दलहरु फेरिएका हुन्। सरकार फेरिएको छैन। हामी त्यही भएर सरकारमा यथावत छौँ,’ उनले थपे।

अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भुमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै सोही बमोजिमको पात्रको रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए।

उनले जनमत पार्टीले राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिनु नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उल्लेख गरे।

१६ फागुन, २०७९, १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।