उकेरा टप फाइभ : दिनभरको माचापच्छीपछि राष्ट्रपति कांग्रेसको ढोक्सामा पार्ने सहमति, सन्दीपविनै युएई उड्ने भयो नेपाली टिम

उकेरा टप फाइभ : दिनभरको माचापच्छीपछि राष्ट्रपति कांग्रेसको ढोक्सामा पार्ने सहमति, सन्दीपविनै युएई उड्ने भयो नेपाली टिम

काठमाडौं : शुक्रबार राष्ट्रिय राजनीति राष्ट्रपतिको उम्मेदवार छान्न केन्द्रीत रह्यो।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा शनिबार मनोनयन दर्ताको समय तोकिँदा शुक्रबार दिनभर शीर्ष दलका नेताहरूको बैठक बसेको बस्यै भयो।

दिनभरकाे माथापच्छीपछि अन्ततः प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका आठ दलले अन्तत: राष्ट्रपति कांग्रेसको ढोक्सामा पार्ने सहमति गरे।

योसँगै राजनीतिमा दुई महिनामै पुरानै गठबन्धनमा फर्कियो भने ओलीले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको आरोप लगाइरहेका प्रचण्डले ओलीसँग उनले गरेको सहमतिसमेत कार्यान्वयन गरेनन्।

अब लागौं टप फाइभतर्फ
शुक्रबार विहान उकेराले नेपालकै दोस्रो ठूलो नाका बेलहियामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण सम्झौता भएको १७ वर्षपछि निर्माणको प्रक्रिया सुरु भएको समाचार छाप्यो। नेपाल–भारतबीचको व्यापारलाई सहजीकरण गरी दुई देशबीच आयात निर्यात सहज बनाउने उद्देश्यले २०६४ सालमा आईसीपी निर्माण सम्झौता भएको थियो।
पूरा समाचारः सम्झौताको १७ वर्षपछि भैरहवामा आईसीपी निर्माण सुरु, यी हुन् फाइदा

यस्तै, दिउँसो उकेराले नियमित स्तम्भ कान्तिपुर गाथा प्रकाशित गर्यो। कान्तिपुर गाथामा आज पंक्तिकारले देशको न्यायप्रणाली र त्यहाँका न्यायाधीशको कार्यसम्पादनमाथि प्रश्न उठाए। हाम्रो न्याय प्रणाली खलास भएको छ। देशका न्यायाधीशहरू भ्रष्टाचारको ढाकछोप गर्न घुलनशील माटोले गर्दा नहर भत्किएको तर्क दिन्छन्। यी झुटा आत्माहरूलाई विज्ञान र प्रविधिको ज्ञान छैन। माटोको स्वभाव नै पानीमा घुलनशील हुनु हो।
पूरा समाचारः कान्तिपुर गाथा : सिक्टाको घुलनशील माटोमा घुलेको न्यायाधीशको न्यायिक मन

अपरान्हतिर उकेराले साप्ताहिक शेयर समीक्षा प्रकाशित गर्यो। यो साता राजनीतिक अस्थिरता र ‘लघुवित्त’ मा राष्ट्र बैंकले गरेको कडाइको नकारात्मक प्रभाव शेयर बजारमा देखियो। २०७०।४१ बिन्दुबाट सुरु भएको नेप्से ४७।७७ अंकले घटेर २०२२।६४ बिन्दुमा आइपुगेको छ। यो साता नेप्से घट्नुसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आयो।
पूरा समाचारः साप्ताहिक शेयर समीक्षा : राजनीतिक अस्थिरता र ‘लघुवित्त’ मा राष्ट्र बैंकले गरेको कडाइको नकारात्मक प्रभाव शेयर बजारमा

त्यसैगरी साँझतिर नै सर्वोच्चले सन्दीप लामिछानेले दायर गरेको मुद्दाको अर्को सुनुवाइ आइतबार गर्ने मिति तोकेसँगै सन्दीप राष्ट्रिय टोलीसँगै युएई जान नपाएको विषयमा पनि उकेराले समाचार प्रकाशित गर्यो। आइतबार आईसीसी विश्वकप क्रिकेट लिग–२ को युएई, नेपाल र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजका लागि नेपाली टोली युएई प्रस्थान गर्दैछ।
पूरा समाचारः राष्ट्रिय क्रिकेट टोली सन्दीपविना युएई जाने, अनुमति पाए बीचमै पठाउने क्यानको योजना

बेलुकी उकेराले राष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति गर्न जुटेका आठ दलले नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने समाचार प्रकाशित गर्यो। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच सहमति भयो।
पूरा समाचारः प्रचण्डको प्रस्तावमा आठ दलबीच सहमति, राष्ट्रपतिमा कांग्रेसलाई समर्थन

१२ फागुन, २०७९, २२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।