सेरेमोनियल राष्ट्रपति छान्न कार्यकारी पद जस्तै प्रतिस्पर्धा भएको भन्दै माओवादी उपमहासचिव शर्मा असन्तुष्ट

सेरेमोनियल राष्ट्रपति छान्न कार्यकारी पद जस्तै प्रतिस्पर्धा भएको भन्दै माओवादी उपमहासचिव शर्मा असन्तुष्ट

काठमाडौँ : सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरेर छलफल अघि बढाएको भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि जनाएका छन्।

शुक्रवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रपति चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने माग गरेका थिए। तानातानका लागि नभई सहकार्य गरेर मुलुकलाई अघि बढाउने गरी मतदाताले मत दिएको भन्दै उनले सहमतिको आधारमा राष्ट्रपति चयन गर्न एकताबद्ध हुनुपर्ने बताए।

संविधानको कार्यान्वयन लगायतको विषयमा बहस हुनुपर्नेमा यो बहस एकातिर छोडेर आज सेरेमोनियल राष्ट्रपतिको प्रसङ्गलाई कार्यकारी राष्ट्रपति जस्तो बनाएर जो बहस भइरहेको छ, यो दुखद कुरा हो,' उनले भने' पहिलो एजेन्डामा सहमति गरौँ। एजेन्डामा सहमतिको आधारमा प्राप्त जनमत आज हामीलाई तानातान गर्नका लागि होइन। प्रतिस्पर्धाका लागि नभई सहकार्यका लागि प्राप्त भएको छ।'

उनले एजेन्डामा सहमति गरेर त्यसको आधारमा पात्र, संरचना र पदहरूको बाँडफाँड गर्नुपर्ने माग गरे। उनले अहिले देशले खोजेको राष्ट्रिय सहमति भएको बताउँदै सबै विचारहरूलाई, सबै भावनाहरूलाई, सबै पार्टीहरूलाई समेटेर राष्ट्रिय सहमतिको आधारमा अगाडि जाने बाटो खोज्न आग्रह गरेका थिए।

१२ फागुन, २०७९, १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।