एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा नेम्वाङ र नेपालको नाम प्रस्ताव गर्दा प्रचण्डले हुन्छ-हुन्न केही भनेनन्

एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा नेम्वाङ र नेपालको नाम प्रस्ताव गर्दा प्रचण्डले हुन्छ-हुन्न केही भनेनन्

काठमाडौँ : बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेललाई राष्ट्रपति बनाउने रणनीतिबाट पछाडि हट्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट सुवास नेम्वाङको नाम अगाडि सारेका छन्।

बुधवार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा ओलीले सरकारलाई समर्थन गरेको दलका तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा एमालेबाट नेम्वाङलाई उम्मेदवार बनाउन ओलीले प्रस्ताव गरेका हुन्।

छलफलबारे जानकार माओवादी केन्द्रका एक नेताका अनुसार ओलीले सरकार बनाउनु अगाडिको सहमति अनुसार एमालेको राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्नुपर्ने र एमालेबाट नेम्वाङलाई उम्मेदवार बनाउने प्रस्ताव राखेका थिए।

यसमा प्रचण्डले हुन्छ या हुन्न केही नभनी अन्य दलसँग यसबारे छलफल गर्नुपर्ने जवाफ दिएका थिए। राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति छान्न समस्या हुने भए कांग्रेसले समेत साथ दिँदै आएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनले राष्ट्रपतिको दोस्रो उम्मेदवारको रूपमा अगाडि सारेका थिए।

ओली राष्ट्रपतिको उम्मेदवारमा केन्द्रित थिए भने प्रचण्ड भने सरकारप्रति गठबन्धनमा रहेका दलहरूको असहयोगमा केन्द्रित भएका थिए। सरकारलाई गठबन्धनमा रहेका दलबाटै सहयोग नभएको गुनासो गरेका उनले ओलीले प्रस्ताव गरेको दुवै उम्मेदवारबारे मुख्यतः जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादीसँग सल्लाह गर्ने बताएका थिए।

प्रचण्डले हुन्छ या हुन्न केही नभनेपछि ओली बैठक सक्काएर बाहिरिएका थिए।

उता नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने पक्षमा उभिएको छ। नेता कृष्णप्रसाद सिटौला समेत राष्ट्रपतिको उम्मेदवारको आकाङ्क्षी रहे पनि पौडेलले नाइँ नभनेसम्म सिटौला उम्मेदवार हुने सम्भावना नरहेको कांग्रेसका एक नेताले बताए।

'यो पटक पार्टी सभापति पौडेललाई दिएको वचनमा अडिग देखिनुभएको छ। उपसभापति पूर्णबहादुर खड्का अनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समेत पौडेलको पक्षमा देखिएकाले काँग्रेसको उम्मेदवार बदलिने सम्भावना छैन,' ती नेताले भने' निर्वाचनको सम्भावित नतिजा हेरेर पौडेल आफैँ ब्याक भएको खण्डमा जो पनि उम्मेदवार हुन सक्छन्।'

उता लोकतान्त्रिक समाजवादी पार्टीले पनि पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउन मङ्गलवारबाट एकाएक सक्रिय भएको छ। माओवादीले आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारको आकाङ्क्षीको नाम सार्वजनिक गरेको छैन। डा बाबुराम भट्टराइको नाममा समेत गठबन्धनमा छलफल भएको देखिन्छ।

उता सात दलको गठबन्धनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी अनि नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे आफ्नो धारणा सार्वजनिक गरेको छैन।

संवैधानिक राजतन्त्रको पक्षमा रहेको राप्रपा राष्ट्रपतिको निर्वाचनमा मतदानमा सहभागी हुने कि नहुने भन्ने निर्णयमै पुग्न सकेको छैन। राष्ट्रपति स्वतन्त्र व्यक्ति हुनुपर्ने नीतिमा रहेको रास्वपा समेत यसबारे मौन छ।

यी दलहरू एमाले र कांग्रेसले अगाडि बढाउने उम्मेदवार अनि त्यसको आधारमा बन्न सक्ने सम्भावित गठबन्धनको आङ्कलन गरेर बसेको देखिन्छ।

१० फागुन, २०७९, १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।