मन सँग मन : नेपाली फिल्म भन्नै लाजमर्दो

मन सँग मन : नेपाली  फिल्म भन्नै लाजमर्दो

शुक्रबार बानेश्वरको ‘वान्स सिनेमाज्’मा फिल्म ‘मन सँग मन’को टोलीले विशेष सो राख्यो। अन्य फिल्ममा सिट नपुगेर भुइँमा बसेर फिल्म हेर्ने पत्रकारहरूसमेत नआइदिँदा आधाभन्दा धेरै सिट खाली थियो।

हल बाहिरै फिल्म निःशुल्क समेत हेर्नलायक छैन भन्नेखालका हल्ला चलिसकेको थियो। तर नाम चलेका कलाकारहरू पुष्प खड्का, बर्षा शिवाकोटी, बुद्धि तामाङ फिल्ममा थिए। अझै चर्चित कलाकार पुजा शर्मा र पल शाह भिडियो तथा फोटो प्रचार सामग्रीमा ठूला देखिएका थिए। फिल्म हल्ला चलेजस्तो खराब छैन भन्ने अनुमान सहित फ्रिमा हल छिरियो।

जब पर्दामा फिल्म चल्न थाल्यो, अनि सुरु भयो उकुसमुकुस। अगाडी बसेका साथीहरू प्रत्येक संवादमा कमेन्ट्री दिइरहेका थिए। त्यहि कमेन्ट्री सुनेर निन्द्रा भगाउन मद्दत पुगिरहेको थियो। दुईचार थान क्यामेरासमेत सँगै फिल्म हेर्न गएका थिए। खुलेआम झुट बोल्ने ती क्यामराहरूले समेत अन्य फिल्मलाई जसरी निःशुल्क हेरेर ‘गज्जबको छ’ भन्न सकेन।

कथावस्तु
फिल्मका नायक र नायिका दुवै भारत सरकारको कर्मचारी हुन्। उनीहरू राजनितीक संरक्षण पाएर कालो धन्दा गरिरहेकालाई कारबाही गर्ने मिसनमा हुन्छन्। मिसन कम्प्लिट हुन्छ कि हुँदैन, यो भने सस्पेन्स।

फिल्मको सम्पूर्ण कथा भारतको दार्जिलिङसँग सम्बन्धित छ। यो नेपाली फिल्म भन्दा पनि नेपाली भाषामा बनेको, नेपाली कलाकारले अभिनय गरेको भारतीय फिल्म हो। माथि नाम भनिएका बाहेक धेरैजसो कलाकार दार्जिलिङकै छन् अनि लवज पनि उतैको।

बुद्धि तामाङले निभाएको पात्र र वैदेशिक रोजगारीका लागि भारत हुँदै अन्य देश जाने लोभमा रहेका युवा पात्रहरूले मात्रै फिल्ममा नेपालको प्रतिनिधित्व गरेका छन्। बुद्धि तामाङ नेपाल र भारतमा भएका नेपाल भाषीहरूमा दुवैले दुवै देशका मानिसलाई माया गर्छन् भन्ने भूमिकामा फिल्ममा अटाएका छन्।

पुजा शर्मा र पल शाह दार्जिलिङको महोत्सवमा नेपालबाट गएका कलाकारका रूपमा एउटा गीतमा अटाएका छन्। फिल्ममा न अभिनय गतिलो छ, न कथा, न पटकथा, न द्वन्द। फिल्म बन्नका लागि कुनै तत्व नभएको फिल्म हो मन सँग मन।

नेपाली फिल्म हैन, नेपाली भाषाको फिल्म
नेपाली फिल्म बकबास हुन्छ। नेपाली फिल्म पनि को हेर्छ। नेपाली फिल्मलाई पनि पैसा तिरेर हेर्नु। यी र यस्ता विचार अधिकांश युवापुस्तामा छ। उनीहरू नेपाली फिल्म हेर्नुलाई समयको बर्बादी मान्छ।

ओटीटी प्ल्याटफर्मका कारण विश्वका फिल्म सहज बनेका छन्। हातमै मोबाइल बोकेर सस्तोमा मन लागेका विधाका फिल्म, वेबसिरिज हेर्न पाइन्छ आजकल। यस्तो जमानामा समेत ‘मन सँग मन’ जस्ता फिल्म बन्नु नेपाली फिल्म क्षेत्रका लागि दुर्भाग्य हो।

चलचित्र विकास बोर्ड अन्तरगतको सेन्स बोर्डबाट पास भएर फिल्म नेपालका हलमा लाग्ने हुन्। ‘मन सँग मन’ जस्तो फिल्मलाई नेपाली फिल्म भनेर हलमा लगाउनु नेपाली फिल्मको बदनाम हो। यो फिल्म नेपाली हैन, नेपाली भाषाको फिल्म भने हो।

सिनेमाको आधारभुत तत्वबाटसमेत बञ्चित
भारतमा बनेको नेपाली भाषाको फिल्म मन सँग मनले नेपाली दर्शक, अझै युवापुस्तालाई भड्काउने देखिन्छ। हुन त अहिलेसम्मको व्यापार हेर्दा दर्शक हलमा छैनन्, त्यसैले जति घाटा लाग्नुपर्ने हो त्यति लागेको छैन।

फिल्म, सिनेमा बन्ने आधारभुत तत्व समेतबाट बन्चित छ। न कुनै कथा भन्न सकेको छ, न गतिलो दृश्य नै खिच्न सकेको छ। १ घण्टा ३४ मिनेटको फिल्ममा ५ ओटा त म्युजिक भिडियो मात्रै छ।

नेपाली कलाकारहरूको अभिनय निकै कम छ। दार्जिलिङका कलाकारहरूले धेरै समय पर्दा ओगटेका छन्। रमाइलो कुरो, ट्रेलरमा देखाइएका दृश्यसमेत फिल्ममा अटाएको छैन। फिल्मको तुलनामा ट्रेलर धेरै उत्कृष्ट छ। कथा नै नभएको ठाउँबाट तानतुन पारेर ट्रेलर दिन सक्नु निर्देशकको गज्जबको खुबी हो।

गोलमटोल सिक्किम र दार्जिलिङको कथाले उताबाट नेपाली भाषी फिल्मको अनुदान पाउन फिल्म बनाएर यता नेपाली फिल्म भनेर झुुक्क्याएर हल्का कमाई थप्न खोजेको देखियो।

नेपालमा बनेका पुराना ढर्राका फिल्मले पनि समिक्षकको मन खुशी बनाउन सकेका छैनन्। उकेरालाई त झनै फिल्ममा राम्रो लेख्न नआउने मिडियाकै रूपमा हेरिन्छ। अहिलेसम्म हेरिएका नेपाली फिल्म र गरिएका समीक्षमा ‘मन सँग मन’ सबैभन्दा कमजोर श्रव्यदृश्य सामग्री हो। जसले अहिलेका पुस्तालाई नेपाली फिल्म, हलमा हेर्ने कुरा सोच्नसमेत नसक्ने बनाउँछ।

सिनेमा बनाउन सबै स्वतन्त्र छन्। तर स्वतन्त्रताको दुरुपयोग गरेर जे पायो त्यहिलाई फिल्म भन्न भने मिल्दैन। यसमा कलाकार, निर्माता निर्देशक लेखक सबैले ध्यान दिन जरुरी छ।

स्क्रिप्ट नपढी फिल्म साइन गर्ने कलाकार, दुईचार जनाले कुस्त पैसा कमाइन्छ भनेको भरमा घरखेत बेचेर फिल्ममा लगानी गर्ने निर्माता, एक्सन र कट समेत नजानेका निर्देशक र संवाद पटकथा केहिको ज्ञान नभएका लेखक। सबैले फिल्म बनाउन पाउँछन्। तर, फिल्म फिल्मजस्तै हुनुपर्यो, केटाकेटीले झुक्किएर मोबाइलमा बनाएको भिडियोजस्तो हैन।

नेपालमा थरी–थरीका सिनेकर्मी छन्। कोहि अन्तराष्ट्रिय स्तरमा नेपाली सिनेमाको भाष्य निर्माण गर्नुपर्ने गफ दिँदै हिँड्छन्। उनीहरूले ‘मन सँग मन’जस्तो फिल्म हेरुन् र नेपाली सिनेमाको हैसियत थाहा पाउन्।

२८ माघ, २०७९, १५:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।