उकेरा टप फाइभ : राहदानीकाे विषयमा रविलाई पाँच कानून लाग्नसक्ने देखि सन्दीप लामिछानेकाे निलम्बन फुकुवासम्म

उकेरा टप फाइभ : राहदानीकाे विषयमा रविलाई पाँच कानून लाग्नसक्ने देखि सन्दीप लामिछानेकाे निलम्बन फुकुवासम्म

काठमाडौं : आज मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई गृह मन्त्रालयमा फर्काउने प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष दबाब बढाए। उनले अल्टिमेटम नै दिएर गृह मन्त्रीमा नियुक्त नगरे सरकारबाट बाहिरिने चेतावनी दिए।

सर्वोच्चको फैसलापछि उनले नेपाली नागरिकता निकाले पनि उनीमाथि राहदानीको विषयका कारण पाँच कानून आकर्षित हुनसक्ने समाचार उकेराले आज विहान प्रकाशित गर्यो। यद्यपि उनको राहदानीको विषयलाई लिएर मंगलबार नै युवराज सफल पौडेलले प्रहरी र अध्यागमन विभागमा उजुरी दर्ता गर्न गए। तर दुवै निकायले तत्काल दर्ता मानेन।
पूरा समाचारः रविको कामले पाँच कानून आकर्षित, हुनसक्छ पाँच वर्ष कैद

गृह मन्त्रालयकै चासोका बीच आज नै माओवादी केन्द्रले रवि लामिछानेबारे अदालतको पूर्णपाठ आएपछि मात्र निर्णय गर्ने बतायो। पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री दाहालले लामिछानेको नागरिकताको मुद्दामा सर्वोच्च अदालतको आदेशको पूर्ण पाठ नआई मन्त्रालयबारे निर्णय नगर्ने बताए।
पूरा समाचारः माओवादीले भन्यो– फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे थप निर्णय हुँदैन

मंगलबार नियमित स्तम्भ चौथो अंगमा सीएमआर नेपाल जर्नालिजम एकेडेमीका निर्देशक उज्जवल आचार्यको अनुभव उकेराले साँझमा प्रकाशित गर्यो। स्तम्भमा उनले रिपोर्टर र सम्पादकले पनि पत्रकारिताबारे नियमित तालिम लिनुपर्नेमा जोड दिए। उनले युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन? भनेर गम्भीर प्रश्नसमेत उठाए उनले।
पूरा समाचारः चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

यस्तै, उकेराले आज बुटवलमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम फिर्ता नगरेको विषयमा समाचार प्रकाशन गर्यो। दुई महिनादेखि सहकारी धाउँदासमेत बचतकर्तालाई रकम नदिएर सहकारीले झुलाएको विषयमा समाचारमा समेटिएको थियो। साट्नका लागि चेक थमाएको सहकारी सञ्चालक सम्पर्कमा नआउँदा बचतकर्ता तनावमा त परेकै छन्, आक्रोशित समेत भएका छन्।
पूरा समाचारः चेक बाेकेर दुई महिनादेखि सहकारीकाे चक्कर काट्दै बचतकर्ता, सञ्चालक सम्पर्कविहीन

यस्तै, आजै नेपाल क्रिकेट संघ (क्यान)को कार्यसम्पादन समितिको बैठक पोखरामा बस्यो। संघका सात सदस्यले अध्यक्षसहितका पदाधिकारीको राजीनामा मागेपछि बैठक केही ढिलागरी सुरु भयो। बैठकले सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने लगायतका अन्य निर्णय पनि गर्यो।
पूरा समाचारः सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

१७ माघ, २०७९, २३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।