किन ‘मर्ज’ भइरहेका छन् बैंकहरू, के हुन्छ फाइदा?

किन ‘मर्ज’ भइरहेका छन् बैंकहरू, के हुन्छ फाइदा?

काठमाडौंः पछिल्लो समय नेपालमा वाणिज्य बैंकहरू धमाधम मर्ज भैरहेका अर्थात् गाभिइरहेका समाचार चर्चामा आइरहेका छन्। यस वर्ष मात्र १० वटा वाणिज्य बैंकहरू आपसमा गाभिएका छन्।

यसै कारण कुनै समय ३० भन्दा धेरैको संख्यामा रहेका वाणिज्य बैंकहरूको संख्या घटेर २० मा सीमित हुन पुगेको छ।

अहिले यसरी धमाधम वाणिज्य बैंकहरू गाभिँदा कतिले यसलाई आश्चर्यको रूपमा लिएका छन् भने कतिको बैंकसँगको विश्वास पनि धरापमा परेको छ।

यसरी बैंकहरू गाभिनुका पछाडि तीन प्रमुख कारण प्रमुख रहेको मानिन्छ।

१. बैंकहरूको संख्या धेरै भयो जसले गर्दा उनीहरूका बीचमा अस्वस्थ प्रतिस्पर्धा भयो। उनीहरुलाई नियन्त्रण गर्ने संस्था राष्ट्र बैंकलाई पनि अनावश्यक बोझ थपिँदै गएको थियो। बैंकहरु जति कम हुन्छन्, उति नै प्रतिस्पर्धा कम हुन्छ। बैंक स्वयंमा बलिया पनि हुन्छन्।

२. एउटै संचालक भएका एक भन्दा बढी बैंकहरू हुनु मर्जरको अर्को कारण हो। नेपालको परिप्रेक्ष्यमा समस्या भनेको एउटै समूहको सक्रियतामा धेरै बैंकहरु स्थापित थिए। आँफूहरुकै लगानीमा नयाँ-नयाँ बैंक खोलेर लाइसेन्स ओगटेको जस्तै अवस्था विद्यमान थियो।

३. कमजोर बैंकहरू हटाउनु पर्ने अवस्था आयो। कुनै बैंकहरु अत्यन्त कमजोर हुँदै गएको परिस्थिति थियो। तिनको लाइसेन्स नै खारेज गर्ने प्रक्रियामा जानु भन्दा त्यस्ता कमजोर बैंकलाई अर्को बलियो बैंकसँग गाभ्दा सेवाग्राहीहरु सुरक्षित हुने र कमजोर बैंकले पनि नयाँ व्यवस्थापन पाएर फस्टाउने अवसर पाउने देखियो।

के हो बैंकको मर्जर र एक्विजिसन

दुई वा दुई भन्दा बढी इजाजतपत्र प्राप्त संस्थाहरू एक आपसमा गाभिएर नयाँ संस्था बन्नुलाई मर्जर भनिन्छ। यस अन्तर्गत दुई वा सो भन्दा बढी संस्थाहरूको उपस्थिति रहने गर्दछ।

कुनै पनि संस्था आपसमा मर्ज हुँदा गाभिने संस्थाहरुको सम्पत्ति र दायित्वलाई एकै ठाउँमा समेटिन्छ।

अर्को तर्फ, एक्विजिसन भनेको एउटा इजाजतपत्र प्राप्त संस्थाले अर्को इजाजतपत्र प्राप्त संस्थालाई खरिद प्रक्रियाद्वारा आफूमा समाहित गर्ने कार्य हो।

यस अन्तर्गत कुनै एक बलियो संस्थाले आफूभन्दा कमजोर संस्था अथवा कम्पनीलाई आफूमा समाहित गराएर विलय गराउने काम गर्दछ। जसमा कमजोर संस्थाले आफू भन्दा बलियो संस्थालाई आफ्नो सम्पत्ति र दायित्व सुम्पने काम गर्दछ।

के मर्जरमा जान राष्ट्र बैंकले नै दबाब दिएको हो?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार केही वर्ष अगाडि ३० भन्दा धेरै वाणिज्य बैंकहरु क्रियाशील रहेका थिए। 

केही समय अघिसम्म भने २७ वटा वाणिज्य बैंकहरूले कारोबार गरिरहेका थिए। सोही सर्वेक्षणले नेपालमा १५ वटा वाणिज्य बैंक भए पुग्ने निष्कर्ष निकालेको थियो।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको अधिकतम संख्या सम्बन्धी प्रतिवेदनमा पनि वाणिज्य बैंकहरूको संख्या ११ देखि १५ भए पुग्ने उल्लेख गरिएको छ।

यो सँगै देशको अर्थतन्त्र र कुल गार्हस्थ उत्पादनको आधारमा बैंकहरूको संख्या धेरै भएको निचोड राष्ट्र बैंकले निकालेको थियो।

जसअन्तर्गत राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई मौद्रिक नीतिमा आउनुभन्दा अघि नै कुन बैंक कुनसँग मर्जर हुने हो, त्यसको प्रतिबद्धता ल्याउन निर्देशन दिएको थियो।

जसले गर्दा राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनमा जाने बैंकहरुलाई सहुलियत प्रदान गर्ने भने सँगै अधिकांश बैंक तथा वित्तीय संस्थाहरु अहिले मर्जर तथा एक्विजिसनमा जानका लागि जुटेका हुन्।
 
बैंक मर्जरले ग्राहकलाई फाइदा हुन्छ कि समस्या?

बैंक मर्जरसँगै उक्त बैंकको आकार ठूलो हुन्छ। जसले गर्दा बैंकहरूले नयाँ बैंकिङ प्रविधिमा लगानी गर्न सक्छन्।यसाले कारोबारलाई सहज अनि सस्तो बनाउन सक्दछ।
 
नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंकलाई तोकिएका क्षेत्रमा अनिवार्य प्रवाह गर्नुपर्ने कर्जाका लागि एक वर्षको समयसीमा थप गरेको छ। 

साथै, मर्जर तथा एक्विजिसनपछि एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशतले र वैधानिक तरलता अनुपातमा १ प्रतिशतले छुट हुने व्यवस्था पनि गरिएको छ।

बैंकबाट तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिशतले थप गर्नुका साथै बैंकहरूले कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशतले छुट दिएको छ।

सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमै बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन दिने घोषणा गरेको छ।

बैंकको मर्जरले ल्याउने मुख्य समस्या भनेको कर्मचारीको समस्या हो। हाम्रो देशमा बैंकहरू जोडिएर दुई भए पनि उनीहरूको मन भने एक हुन सकेको छैन।

यस्तै बैंक मर्जरमा जाँदा भीआरएसका नाममा राम्रा कर्मचारी निकालिने, निस्किने र बैंकलाई पनि ठूलो आर्थिक भार पर्ने गरेको छ।

यसले बैंकको आर्थिक दायित्व थपिदिएको छ भने धेरै बैंकले राम्रा बैंकरहरू गुमाएका छन्। जसले गर्दा उनीहरू बेरोजगार बस्नुपर्ने अवस्था आएको छ।

बैंक मर्जरले कर्मचारीलाई मात्र होइन ग्राहकलाई पनि उत्तिकै झन्झटिलो बनाएको हुन्छ। मर्जर पश्चात् नयाँ खाता नम्बर लिनु पर्छ। नयाँ चेकबुक चाहिन्छ।

यसले कतिपय ग्राहकलाई त दिक्कै पारेको हुन्छ। यससँगै बैंकहरू मर्ज हुँदा ऋणीहरूलाई पनि उत्तिकै समस्या हुन्छ।
 
मर्ज भएपछि दुवै बैंकमा खाता भए के हुन्छ?

मर्जरपछि दुइटै बैंकमा निक्षेप खाता हुने उपभोक्ताका हकमा त्यस्तो खाता गाभेर एउटै बनाउन बैंकले ग्राहकलाई सूचना दिन्छ। जसअन्तर्गत ग्राहकले एउटा बैंकको खाता बन्द गर्नुपर्ने हुन्छ।

यसमा रोजाइ ग्राहकको हुन्छ। तर, मुद्दती खाता छ भने परिपक्व अवधिसम्म एकभन्दा बढी खाता रहिरहन्छ।

उदाहरणका लागि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक आपसमा मर्ज भइ २७ पुसबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रुपमा एकीकृत कारोबार सुरु भएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको हकमा अहिलेलाई पहिलेकै जस्तो किसिमले सेवाग्राहीले आफ्नो खाता प्रयोग गर्न पाउने र कालान्तरमा बैंकको कस्टमर सर्भिस विभागले खाताबहाकलाई सम्पर्क गरेर परामर्श गर्दै थप प्रक्रिया अगाडि बढाउने बैंकका सूचना अधिकारी विजेन्द्र सुवालले बताए।

उनी भन्छन्, ‘एउटै व्यक्तिले एउटै बैंकमा दुईवटा खाता खोल्न पाउँदैन। एकै व्यक्तिको दुवै बैंकमा खाता छ भने उसलाई अहिले छनोट गर्न दिइन्छ, कुन खाता बन्द गर्ने भनेर। त्यहीअनुसार एउटा बन्द गरेर अर्को खाता मात्रै सञ्चालनमा राखिन्छ।’

त्यस्तै, २५ पुसबाट एकीकृत कारोबार थालेका ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंले पनि मर्जर पछि ग्लोबल आईएमई बैंकका नाममा एकीकृत कारोबार सुरु गरेका छन्।

बैंकका अपरेसन म्यानेजर विपुल देवकोटाका अनुसार कुनै प्रयोगकर्ताको दुवै बैंकमा खाता भएको खण्डमा कुनै एक खातालाई बन्द गराइन्छ।

उनी भन्छन्, ‘कसैको पनि एउटै बैंकमा दुईवटा खाता हुँदैन। मर्ज भएपछि मल्टिपल एकाउन्ट हुने देखियो भने तुरुन्तै नभएर विस्तारै ग्राहकलाई पनि जानकारी गराएर यसलाई बन्द गराउने प्रक्रिया अघि बढाइन्छ।’

यदि कसैसँग दुइटै बैंकको सेयर छ भने मर्जरपछि बन्ने नयाँ नामसहितको बैंकको नाममा सेयर आउँछ। यदि गाभिएको पुरानो बैंकको नामबाट कारोबार गरिएको छ भने उक्त विलय भएको बैंकको नाम पनि नयाँ नामबाट आउनेछ।

४ माघ, २०७९, १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।