साप्ताहिक शेयर समीक्षा : बजारले गति लिन सकेन, सुधारका लागि दुई चिज बाधक

साप्ताहिक शेयर समीक्षा : बजारले गति लिन सकेन, सुधारका लागि दुई चिज बाधक

काठमाडौं : शेयर बजारका लागि निकै उतारचढाव रहेको यो साता नेप्से परिसूचक अन्तिममा अघिल्लो साताकै नजिक पुगेर रोकियाे।

कारोबारले गति लिन नसकेको यो साता नेप्से परिसूचक १८५० देखि १९०० बीचमै तलमाथि रह्यो। बजार निकै तल्लो विन्दुमा रहेकाले यसलाई 'अक्कुमुलेसन फेज' भन्ने गरिएको छ। तर, शेयर कारोबारले त्यसतर्फ संकेत गर्दैन।

यसको अर्थ शेयरधनीहरूले सस्तो मूल्यमा शेयर बेच्न रुचाइरहेका छैनन्। नेप्से परिसूचक बढ्नुसँगै शेयर कारोबारमा वृद्धि हुनु भनेको त्यसैको सूचक हो।

समग्रमा हेर्दा बियरिस अवधि पनि १७ महिनामा चलिरहेको छ। गएको बुल अवधि पनि निकै छोटो रहेकाले वियरिसले पनि अब धेरै लामो समय नलिने कतिपयको तर्क रहेको छ।

१८ सय आसपासकै लेबलबाट मार्केट बाउन्स ब्याक हुन्छ भन्नेहरू पनि उत्तिकै छन्। तथापि, बजारको न्यूनतम विन्दुका बारेमा कसैले पनि ठोकुवा गर्न सक्दैन। विभिन्न तथ्य, आधार र विगतको अनुभवको आधारमा अनुमान गर्ने मात्रै हो।

अहिले एकातिर लाभांशको सिजन चलिरहेको छ भने अर्कोतिर अर्थतन्त्रका सूचकहरूमा पनि सुधार हुन थालेको छ। बैंकमा तरलता सहज हुँदै गएको छ। कतिपय बैंकहरूले शेयर कर्जा उपलब्ध गराउन ग्राहकहरूलाई बोलाइरहेका छन्।

यी दृश्यहरूले आगामी दिनमा अवस्था विस्तारै सहज हुँदै जाने र नेप्से परिसूचकले बुल फेजमा प्रवेश गर्ने अनुमान गर्न सकिन्छ। तर, पनि यो १८ सयको लाइनमा रहेको बजार कतिसम्म तल झर्छ अनि अकुमुलेसन अवधि कति लामो रहन्छ भन्ने कुरा नै आम लगानीकर्ताहरूको चासोको विषय बनेको छ।

जहिले पनि हाम्रो शेयर बजार चक्रीय प्रणालीमै चलेको विगतको इतिहास छ। निश्चित वर्षको बुल र बियर हुने प्रचलन अहिलेसम्म पनि जारी छ। त्यही कारण १७ महिनादेखि बियरिस चक्रमा हिँडिरहेको बजार निकट भविष्यमै बुलिस चक्रमा प्रवेश गर्ने लक्षण देखिन्छ।

शेयर बजारमा आइतबार फराकिलो अंकको गिरावट आएको थियो। अघिल्लो साता १८८२.६ मा बन्द भएको सूचक त्यसदिन २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा पुगेको थियो। त्यसदिन जम्माजम्मी १ अर्ब १५ करोड रुपैयाँभन्दा बढिको शेयर कारोबार भएको थियो।

नेप्से सूचक सोमबार ३.८३ अंकले बढेर सूचक १८५८.८९ विन्दुमा उक्लिएको थियो। सो दिन ८८ करोड ६० लाख रूपैयाँको कारोबार भयो भने धौलागिरी लघुवित्तमा सकारात्मक सर्किट लाग्यो। त्यस दिन पनि समग्रमा बजार साइडवेजमै देखियो। बजार खासै तल झर्न पनि सकेन र माथि जान पनि सकेन।

मंगलबार सूचक १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा पुग्यो। करिब ९३ करोड रूपैयाँको कारोबार भयो भने ३ कम्पनीमा सकारात्मक सर्किट लाग्यो। यस दिन बजार १८४९ विन्दुसम्म ओर्लिएर पुनः माथितिर उक्लिएको थियो।

समग्रमा साइडवेजमा रहेको बजारमा बुधबार पुनः सामान्य गिरावट आयो। त्यस दिन नेप्से सूचक ५.८९ अंकले घटेर १८६७.२२ विन्दुमा पुग्यो। जम्माजम्मी ८६ करोड ३८ लाख रूपैयाँको कारोबार भएको बुधबार ३ कम्पनीमा सकारात्मक सर्किट लाग्यो।

बजारले बिहीबार पनि सामान्य दवावको सामाना गर्यो। दिनभरजसो तल ओर्लिएको नेप्से परिसूचक बजार बन्द हुने बेलामा एकाएक उक्लिएर अघिल्लै दिनको अवस्थामा पुगेको थियो।

त्यस दिन नेपाल टेलिकमको शेयरमा ठूलै चलखेल भएको अनुमान विज्ञहरूले गरेका छन्। दिनभर घटेको टेलिकमको मूल्य बजार बन्द हुने बेलामा एकाएक बढ्न पुगेको थियो। समग्र सूचकलाई यसैले माथि तानेको हो।

टेलिकमले ४० प्रतिशत नगद लाभांश दिने भएपछि दिनभरजसो यसमा बिक्रेता हावी भएको देखिन्थ्यो। दिनभर करीब ५ प्रतिशत तल खसेको टेलिकमको मूल्य अन्तिम प्रहरमा ३.९३ प्रतिशतले बढ्न पुग्यो। यसले समग्र बजारको परिदृश्यमै परिवर्तन ल्याइदिएको हो।

बिहीबार नेप्से सूचक ०.०१ अंकले मात्र घटेसँगै सूचक १८६७.२१ विन्दुमा पुग्यो। १ अर्ब ११ करोड रूपैयाँको कारोबार भएको यसदिन दुई कम्पनीमा सकारात्मक सर्किट लाग्यो।

बजार केही समययता १८ सयको लाइनमा घुमिरहेको छ। पछिल्ला केही दिनयता बजारले १८५० आसपासको विन्दुलाई सपोर्ट बनाएर तलमाथि गरिरहेको देखिन्छ। यसअघि पनि नेप्से १८४८ विन्दुसम्म झरेर फेरि केही माथि लागेको थियो। तल्लो विन्दुमा रहेको बजार उकास्नका लागि नीतिगत तहमा केही सुधार हुनुपर्ने देखिन्छ।

बैंकको ब्याजदर घट्यो भने लगानीकर्ताको मनोबल बढ्ने देखिन्छ। धेरैजसो अर्थविद्हरूले यसको दोष राष्ट्रबैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई दिने गरेका छन्।

उनीहरू भन्छन्– ‘४/१२ को नीति, बैंकको ब्याजदर बढाउने नीति, २५ लाख भन्दा माथिको शेयरधितो कर्जामा १५० प्रतिशत जोखिम राख्नुपर्ने नीति जस्ता व्यवस्थाहरूले शेयर बजारलाई यस अवस्थामा ल्याएको हो।’

अब केही समयभित्रै यो चक्र समाप्त हुने र बुलको सुरुवाती चरण सुरु हुने उनीहरूको विश्लेषण छ। तर, यसका लागि ब्याजदरले भने साथ दिनुपर्ने हुन्छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुन पनि आवश्यक छ।

यस्तै, नियामक निकायहरू पनि पुँजी बजारप्रति सकारात्मक हुन जरुरी देखिन्छ। थला परेको बजार एकैसाथ माथि जान पनि सक्दैन। १७ महिनादेखि बजार निरन्तर घट्दा पुराना लगानीकर्ता थला परेका छन् भने नयाँ लगानीकर्ता आउने वातावरण बनिसकेको छैन।

बजार बढ्न थाल्यो भने मात्र नयाँ लगानीकर्ताहरू आउने गरेको विगतको उदाहरणले देखाएको छ। बजारको दिगो सुधारका लागि नीति, प्रविधि र मनोविज्ञानमा सुधार हुनुपर्छ। बजारमा हजारौं नयाँ लगानीकर्ताको प्रवेश हुन जरुरी छ। नयाँ–नयाँ प्रविधि र बजारका अरु औजारहरू पनि आउन आवश्यक हुन्छ।

यतिबेला बजार सुधारका लागि प्रमुख रूपमा दुई वटा कुरा बाधक देखिएको छ। एउटा, नीतिगत समस्या हो भने अर्को चर्को ब्याजदर। ब्याजदर विस्तारै घट्नेक्रममै देखिएको छ किनभने वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएको छ।

तर बजारलाई केन्द्रीय बैंकले नीतिमा कसेर अप्ठेरो बनाएको छ। यसका लागि भने उक्त गलत नीतिमै सुधार गर्नुपर्ने जानकारहरू बताउँछन्।

८ पुस, २०७९, १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।