स्वास्थ्य मन्त्री खापुङलाई पाँच हजार जरिवाना

स्वास्थ्य मन्त्री खापुङलाई पाँच हजार जरिवाना

काठमाडौं : निर्वाचन आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई पाँच हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ को उपदफा (५) तथा निर्वाचन आचारसंहिताले निषेध गरेको कार्य तथा निर्णय गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको पुष्टि गर्दै आयोगले खापुङलाई पाँच हजार जरिवाना गर्ने निर्णय गरेको उकेरालाई प्राप्त पत्रमा उल्लेख छ।

आयोगले मन्त्री खापुङलाई लेखेको पत्रमा भनिएको छ, ‘...निज स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भवानीप्रसाद खापुङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमाजिम रू. ५००० जरिवाना ठहर्छ भनि आयोगबाट मिति २०७९/०८/०२ मा निर्णय भएको व्यहोरा जानकारी गराइन्छ।’

उक्त रकम आयोगमा दाखिला गर्नसमेत आयोगले निर्देशन दिएको छ।

मन्त्री खापुङले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकको रूपमा खटाउने काम गरेपछि आयोगमा उजुरी परेको थियो।

मन्त्रीस्तरबाट २०७९ असोज ११ गते डा.रामदेव यादवलाई सिंहदरबार वैद्यखाना विकास समितिको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी निमित्त कार्यकारी निर्देशकको रूपमा कामकाज गर्न खटाउने निर्णय भएको आयोगले मन्त्रालयलाई लेखेको अर्को पत्रमा उल्लेख छ।

त्यसैगरी, मन्त्रीस्तरबाटै २०७९ कात्तिक २० मा डा.श्यामबाबु यादवलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुमा काम गर्न जानकारी गराउने गरी निर्णय भएको थियो।

मंसिर १८, २०७९ आइतबार १९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।