'गठबन्धनको उम्मेदवारलाई जिस्काउँदा' स्वतन्त्र पार्टीको गाडीको सिसा फुटाइयो

'गठबन्धनको उम्मेदवारलाई जिस्काउँदा' स्वतन्त्र पार्टीको गाडीको सिसा फुटाइयो

चितवन : इच्छा मनकामनाको लेवाटारमा गठबन्धनबाट चितवन-२ का उम्मेदवार उमेश श्रेष्ठको टोली अनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने समूहको बाटैमा जमघट भयो।

दुवै टोलीबीच अकस्मात जम्काभेट भयो। दुवै समूहको हात मिलाए। एकाएक एक व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ता चढेको गाडीको अगाडिको भागमा चढेर सिसामा लात्तीले हाने।

गठबन्धनकै कार्यकर्ताले गाडी छेकेर सुरक्षित अगाडि पठाए।

गठबन्धन दलका समर्थकले चर्चाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले नै स्टन्ट गराएको दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार मनिष झाले गठबन्धनका कार्यकर्ताले फुटाएको ट्विटमार्फत दाबी गरेका छन्।

चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले भने सम्बन्धित व्यक्तिको पहिचान गरेर पक्राउका लागि खोजी भइरहेको दाबी गरेका छन्।

एसपी अधिकारीका अनुसार दुवै दलको प्रचार टोलीबिच जम्काभेट भए पनि माहाेल सामान्य रहेको र हात मिलाएर छुट्टिँदै गर्दा एक व्यक्तिले गाडी फुटाएको देखिएको बताए।

उनले भने- 'राष्ट्रिय स्वतन्त्र पार्टीको गाडीमा भएका केही गठबन्धनलाई जिस्काएपछि एक व्यक्तिले गाडी फुटाएका थिए। गाडीमा उम्मेदवार लामिछाने भने थिएनन्। व्यक्तिको पहिचान गरी पक्राउ गर्न खोजिरहेका छौँ।' 

२७ कात्तिक, २०७९, १९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।