राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाह प्रयास

राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाह प्रयास

काठमाडौं : न्याय माग्दै आमरण अनसन बसेकी निहारिका राजपुतले आज राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी छिन्।

दुई वर्षको छोरासहित शीतल निवास अगाडि पुगेकी निहारिकाले त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याएकी थिइन्। पेट्रोल खन्याएर आगो लगाउन खोज्दाखोज्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनले यही साउन २० गतेदेखि न्यायको माग गर्दै आमरण अनसन सुरू गरेकी थिइन्। बसन्तपुर डबलीमा अनसन बसिरहेकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन्।

निहारिका आज बसन्तपुरबाट प्रहरी नभएको मौका छोपी एक जना साथीसहित ट्याक्सी चढेर शीतल निवास पुगेकी थिइन्।

उनी आफ्नो बच्चाको डिएनए जाँच गरिनुपर्ने माग राख्दै अनसन बसेकी हुन्। घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ। गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन्।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको निहारिकाको भनाइ छ।

२७ साउन, २०७९, १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।