रवीले पार्टीको नाम र प्रस्तावित चिन्ह खुलाए, उम्मेदवार बन्ने क्षेत्र र पार्टीको सिद्धान्त खुलाएनन्

रवीले पार्टीको नाम र प्रस्तावित चिन्ह खुलाए, उम्मेदवार बन्ने क्षेत्र र पार्टीको सिद्धान्त खुलाएनन्

काठमाडौँ : टेलिभिजनको व्यवस्थापन र प्रस्तोताको जिम्मेवारी छाडेर राजनीतिमा आएका रवी लामिछानेले नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्। राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनले पार्टीको नाम घोषणा गरेका हुन्।

उनले कार्यक्रममा पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राख्ने बताउँदै उनले राजनीतिमा सहभागी हुने घोषणापछि अन्य राजनीतिक दलहरूसँग छलफल गरे पनि नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको भन्दै पार्टीको प्रस्तावित नाम सार्वजनिक गरेका थिए।

उनले कार्यक्रममा २१ जनाको कमिटी रहेको भन्दै त्यसमा देशमा चिनिएकाहरू नभएको तर देश चिनिएकाहरू रहेको दाबी गरेका थिए। कार्यक्रममा आगामी संसदीय निर्वाचनमा उनी उम्मेदवार बन्ने निर्वाचन क्षेत्र समेत घोषणा हुने अनुमान गरिए पनि उनले निर्वाचन क्षेत्र भने घोषणा गरेनन्।

उनले झापा, डडेलधुरा अनि चितवनबाट उम्मेदवार हुन मन भए पनि सत्तामा रहेकाहरूले गर्ने निर्वाचन देखेकाले ' राजनीति राजनीतिकै रूपमा गर्नुपर्ने' बताउँदै काठमाडौँबाटै उम्मेदवार बन्ने सङ्केत गरे। तर निर्वाचन क्षेत्र भने तोकेनन्।

कार्यक्रममा राष्ट्रिय झन्डालाई गलबन्दी बनाएर आएका उनले आफ्नो पार्टीको एजेन्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री रहेको बताएका थिए। कुनै उम्मेदवार बन्न पहिला पार्टीभित्रका सदस्यहरूबाट निर्वाचित भएर आएर मात्रै उम्मेदवार बन्न पाउने अमेरिकी मोडल अपनाउने घोषणा गरे।

अवस्था बदल्न आफू नयाँ दलसहित निर्वाचनमा सहभागी भएको भन्दै उनले प्रत्यक्षभन्दा पनि समानुपातिक मतको आधारमा संसद्मा प्रवेश गर्ने रणनीति बनाएको सङ्केत गरेका थिए। सम्बोधनमा उनले पार्टीका उम्मेदवारहरूलाई मत दिएर जिताउनभन्दा पनि समानुपातिक मत दिएर संसद्मा पार्टीको प्रतिनिधित्व गराउन आग्रह गरेका थिए।

पहिलो राजनीतिक कार्यक्रम भएकाले हुनसक्छ उनको सम्बोधनको शैली राजनीतिक भन्दा पनि कार्यक्रम सञ्चालन गरिरहेझैँ देखिएको थियो। उनी बारम्बार आदरणीय दर्शबृन्द भनिरहेका थिए। कार्यक्रममा उनले पार्टीको केन्द्रीय समिति २१ सदस्यीय रहेको बताए पनि नाम भने खुलाएनन्।

पार्टीको राजनीतिक सिद्धान्त के हुने भन्ने समेत उनले खुलाउन सकेनन्। उनको आर्थिक नीति के हुने अनि शैक्षिक नीति के हुने केही खुलाउन सकेनन्। कार्यक्रममा उनले पार्टीको सामान्य संरचनाबारे मात्रै उल्लेख गरेर कार्यक्रम सक्काए।

उनले अहिलेका दलको विकल्प बन्ने दाबी त गरे तर वैकल्पिक उम्मेदवार मात्र तयार पार्ने हो या राजनीतिक सिद्धान्त र रणनीतिमा पनि विकल्प बन्ने हो सो खुलाउन सकेनन्। पार्टी घोषणामा उनी बाहेक नेतृत्वमा रहेको दोस्रो तहका कुनै नेताको पहिचान खुलेन।

७ असार, २०७९, १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।