चिसो मान्छे: कथा भन्नै असफल, पट्यारलाग्दो प्रस्तुति

चिसो मान्छे: कथा भन्नै असफल, पट्यारलाग्दो प्रस्तुति

आफ्नै समाजको कथा। फरक प्रस्तुतिकरण। स्थानीय लवज। 

फिल्म 'चिसो मान्छे' को ट्रेलरमा देखिएका विषय थिए यी। ट्रेलरकै कारण फिल्म बहुप्रतीक्षित बन्यो। त्यसमाथि नायिका स्वस्तिमा खड्काको अभिनयको सुगन्धले ट्रेलर मगमगाएको थियो।

तर, सुवास ट्रेलरसम्मै मात्र सीमित छ। फिल्म पट्यारलाग्दो बनेको छ।

०००
बा१३प ७०९९ नम्बरको कुखुरा बोक्ने गाडी। गाडीका चालक अशोक थापा (अर्पण थापा), शव, शवकी श्रीमती पुष्पा (स्वस्तिमा खड्का), बुवा (देशभक्त खनाल) फिल्मका मुख्य पात्र हुन्।

फिल्म चिसो मान्छेमा मृतकलाई कफिनभन्दा बढ्ता केही मानिएको छैन। यसमा निर्देशकको आफ्नो तर्क होला, तर मृतकलाई कफिनमै सीमित बनाउँदा दर्शकमा जे जस्तो समवेदना जाग्नुपर्ने हो, जागेन। दर्शकलाई त्यही समवेदनाले बाँधेर राख्नसक्थ्यो, बाँधिएनन्।

कथा हो- कोरोना महामारी र लकडाउनका बीच लास लिएर काठमाडौंदेखि सुदूरपश्चिमसम्मको यात्रा।

झण्डै २ घण्टाको फिल्म यही विषय वरपर घुम्छ। तर प्रस्तुतिकरण नौलो छ। पृथक दृश्य भाषाको प्रयोग गरिएको छ। तर, फरक हुनु नै उत्कृष्ट हुनु होइन।

फिल्मले आम दर्शकको सामान्य अपेक्षा समेत पूरा गर्न सकेको छैन।

मृत्यु कुनै पनि अवस्थामा मजाकको विषय नै होइन। चाहे अपरिचित व्यक्तिको होस् चाहे कुख्यातै अपराधीको होस्। बरू मृत्यु सबै गल्तीको माफी हो। त्यसैले अपराधशास्त्रमा भनिन्छ नि- अपराधी मरेपछि अपराध पनि मर्छ।

तर, फिल्म चिसो मान्छेमा मृतकलाई कफिनभन्दा बढ्ता केही मानिएको छैन। यसमा निर्देशकको आफ्नो तर्क होला, तर मृतकलाई कफिनमै सीमित बनाउँदा दर्शकमा जे जस्तो समवेदना जाग्नुपर्ने हो, जागेन। दर्शकलाई त्यही समवेदनाले बाँधेर राख्नसक्थ्यो, बाँधिएनन्।

सुरुमै निर्देशक चिप्लिए।

पात्र
सानैदेखि गायिका बन्ने सपना हुन्छ- बाजुरेली पात्र पुष्पाको। उनी स्वतन्त्रता चाहन्छिन्। भाग्न चाहन्छिन्।

उनको श्रीमान् वैदेशिक रोजगारीका क्रममा बितेकाले, एयरपोर्टमा शव आएको छ। उनी आफ्नो ससुरासँग लास लिन काठमाडौं आउँछिन्। तर यसबेला समेत भाग्ने वातावरण खोजिरहन्छिन् उनी।

यदि मानवता हराएका चिसा मान्छेको कथा भन्न खोजेका हुन् भने निर्देशकका रूपमा दीपेन्द्र के. खनाल पूर्णरूपमा असफल भएका छन्। उनले मानवता हराएको त देखाएका छन् तर निकै फितलो तर्कले। 

१५ वर्षमा विहे भएको छ पुष्पाको। त्यो पनि निकै क्रान्तिकारी घरमा। 

दुईभाइ छोरामध्ये कान्छो छोरो सशस्त्र द्वन्द्वमा शहीद भइसक्यो। 'छोरी बनाएर राख्छु' भनेर ससुराले जेठो छोरोको विहे गराइदिएका हुन्छन् पुष्पालाई। तर त्यही घरमा उनी वैवाहिक बलात्कारमा पर्छिन्। 

श्रीमान्को अनुहार राम्रोसँग याद पनि छैन उनलाई।

अर्का पात्र चालक अशोक थापा। उनी केटी मान्छेको हाउभाउ, अनुहार हेरेरै मनको कुरा थाहा पाउन सक्छन्। पढेलेखेका छन्। कोभिड-१९ ले श्रीमती बितिन्। ६ महिने छोरीलाई बहिनीको जिम्मा लगाएका छन्। 

कुखुरा पालन गर्थे तर कोभिडले सबै डुब्यो। बैंकबाट ऋण लिएर किनेको कुखुरा बोक्ने गाडीमा लास बोकेर गन्तव्यतिर लम्कँदैछन्।

लास पात्रको कथा छुट्टै छ। सानैमा भारत रोजगारीका लागि गयो। केही कमायो र गाउँ फर्केर विहे गर्यो। 

तर, विहे गरेको केही दिनमै कतार उड्यो। तर त्यो लास अपराधीको हो। जसले श्रीमतीलाई रक्सी खाएर बलात्कार गर्यो। पर्समा अर्कै केटीको फोटो बोकेर हिँड्ने धोकेवाज पनि हो त्यो लास।

लासका बा, दोधारे छन्। आफैँ कागजपत्र हराउँछन्, अनि राज्यलाई दोष लगाउँछन्। छोरी बनाउँछु भनेर नाबालिगसँग छोरोको विहे गराउँछन्, तर उनको गायिका बन्ने रहरलाई रोक्छन्। 

१७ दिनसम्म छाउगोठमा रगतमा डुबाएर बुहारीलाई राख्छन्, अनि फेरि जातपात केही हुन्न सबै मान्छे बराबर हो भनेर ज्ञान दिन्छन्।

यसरी फिल्मका पात्रलाई केलाउँदा चरित्र निर्माणमै समस्या देखिन्छ। खास निर्देशकले फिल्ममा देखाउन खोजेको के हो? कोभिड- १९ को प्रभाव कि, वैदेशिक रोजगारीले दिएको उपहार कफिनको कथा हो कि, सुदूरपश्चिममा सपना मारेर बस्न बाध्य चेलीको कथा हो कि, कोभिडको समयमा गाउँघरमा देखिएको राजनीति हो कि, के हो?

यदि मानवता हराएका चिसा मान्छेको कथा भन्न खोजेका हुन् भने निर्देशकका रूपमा दीपेन्द्र के. खनाल पूर्णरूपमा असफल भएका छन्। उनले मानवता हराएको त देखाएका छन् तर निकै फितलो तर्कले। 

अर्पण थापाको अभिनयले भने काँडा उमार्छ। एक दृष्य छ, जसमा रोइरहेकी ६ महिने छोरीलाई फोनबाट फकाउनुपर्नेछ। फोन राखिसकेपछि उनी जुन तरिकाले रुन्छन्, त्यसले सबैको आँखा रसाउँछ।

भावमा मानवता हराएको छैन। दृष्यमा लौरीको शक्ति र पुलिसको घुसमा मात्रै हराएको छ मानवता।

संवाद र अभिनय
फिल्ममा संवादहरू निकै कम छन्। दृश्यमा देखाउन सके संवाद कम गर्नु राम्रै पक्ष हो। तर भएका संवाद पनि सायरी जस्तो। छेउ न टुप्पोको। 

एक ठाउँमा त संस्कृतका स्लोक समेत भट्याइएको छ।

फिल्ममा दुई पात्रको भाषा बाजुरेली छ। नेपाली भाषीले ७० प्रतिशत त बुझ्छन् तर ३० प्रतिशत भाषा बुझ्दैनन्। सबटाइटल नभएकाले नबुझेका भाषा अनुमानको भरमा बुझ्नुपर्ने हुन्छ।

भाषाको बलमा जस्तो अभिनय देखाउनुपर्थ्यो त्यति देखाउन कलाकारहरूले सकेका छैनन्। त्यसैले अभिनयको मामिलामा अर्पण थापाले दुवै कलाकारलाई पछि छोडेका छन्।

स्वस्तिमा र देशभक्तको संवाद नबोल्दा भाव बोलेको छ। तर जब संवाद बोल्नुपर्ने अवस्था आउँछ त्यहाँ भाव हराएको छ। सजिलै थाहा पाउन सकिन्छ, कलाकार भाषामा सजग हुँदा अभिनयको मौलिकता हरायो भनेर।

निर्देशकले पात्रहरूको बेचैनी देखाउन सकेका छैनन्। छायाँकार, लेखक र निर्देशक तीन वटै विधाको बागडोर सम्हालेका दीपेन्द्रले खुशी र आँसु दुवै एकैपटक देखाउने रसको प्रयोग गर्न असफल भएका छन्। 

केही दृश्य भने विम्बात्मक छन्। जस्तो- गाडीको चक्का। जीवनको उतारचढावलाई देखाउने यो सट राम्रो छ। त्यस्तै गाडीमा लेखिएको स्लोगनले पनि कथा भन्छ। जसमा लेखिएको छ, यो जिन्दगी यसरी नै चल्छ, मेहनत गरे आफ्नै देशमा सुन फल्छ।

एक दृश्य छ, जव पुष्पा गाडीबाट भागेर सुन्दर ठाउँमा नाचिरहेकी हुन्छिन्। त्यो दृश्य जति मार्मिक हुनुपर्ने हो त्यति छैन। बाकसमा श्रीमान्को लास छ, तन नजले पनि मन जलेको छ। अर्कोतर्फ बलात्कारी श्रीमान् अब फेरि बलात्कार गर्न आउने छैनन् भन्ने खुशी पनि छ। यो दृश्यलाई पर्दामा उर्तान निर्देशक पूर्णरूपमा असफल भएका छन्। 

मार्मिक दृश्यलाई पागलपना जस्तो देखाइएको छ, घरी हास्ने, घरी रुने।

अर्पण थापाको अभिनयले भने काँडा उमार्छ। एक दृष्य छ, जसमा रोइरहेकी ६ महिने छोरीलाई फोनबाट फकाउनुपर्नेछ। फोन राखिसकेपछि उनी जुन तरिकाले रुन्छन्, त्यसले सबैको आँखा रसाउँछ। फिल्मभर अब्बल प्रस्तुति सायद यही हो।

फिल्ममा अधिकांश दृश्य दोहोरिरहन्छ। छायाँकारले फिल्म खिच्दा केही मेहनत त गरे तर त्यो पर्यात छैन। जतिखेरै उस्तै देखिने दृश्यले फिल्म पट्यार लाग्दो बनेको छ। कुनै सट त यति लामो छ कि, झर्को लाग्छ।

एउटा दृश्यमा चौतारीमा कफन ओडाएको लास कटेर गाडी अगाडी बढ्छ। त्यो दृश्य झुलुक्क आउँछ र जान्छ। त्यसको अर्थ के हो? लास उठाउने मानिस भएन भन्न खोजेको हो कि, कोभिडले बाटैमा मरेको देखाएको भए पनि कफन ओडाएर कसले छाडेर गयो? 

शहरमा बेवारिसे लास अलपत्र छाडिए पनि गाउँघरमा यस्ता दृश्य अकाल्पनिक हो। कुकुरको समेत सद्गत गर्ने समाजमा यतिसम्म मानवता हराइसकेको छैन कि!

अर्को दृश्य छ, पंक्तिबद्ध रूपमा गाउँ फर्किएका मानिसहरू। 

एउटा लास मात्रै बोकेर हिँडेको रित्तो गाडी देख्दा त्यस्तो अनुशासित भएर हिँडे होलान् त? कसैले रोक्ने प्रयास समेत गरेनन् होला। वास्तविक घटना भए पनि यो दृश्य पूर्णरूपमा कल्पनिक लाग्छ।

केही दृश्य भने विम्बात्मक छन्। जस्तो- गाडीको चक्का। जीवनको उतारचढावलाई देखाउने यो सट राम्रो छ। त्यस्तै गाडीमा लेखिएको स्लोगनले पनि कथा भन्छ। जसमा लेखिएको छ, यो जिन्दगी यसरी नै चल्छ, मेहनत गरे आफ्नै देशमा सुन फल्छ।

पार्श्व संगीतमा पनि खासै मेहनत देखिन्न। आवाज कारुणिकभन्दा कर्कश सुनिन्छ।

समग्रमा फिल्म अपेक्षा गरेअनुसारको छैन। बाजुराको कथा, सुदूरपश्चिमको कथा खोज्नुहुन्छ फिल्ममा त्यो छैन। 

फिल्म लकडाउनमा गरिएको यात्राको कथा हो। हाम्रै वरपरको घटनाबाट कथा बन्छ भन्ने देखाउन भने 'चिसो मान्छे' सफल भएको छ। विदेशी फिल्म हेरेर चोर्ने प्रवृतिका लागि चाहिँ यो फिल्म राम्रो उदाहरण हो।

४ असार, २०७९, १०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।