डब्ल्यूएचओका महानिर्देशक भोलि नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

डब्ल्यूएचओका महानिर्देशक भोलि नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने भ्रमणका लागि भोलि (बिहीबार) नेपाल आउने भएका छन्। महानिर्देशक डा.अधानोम गेब्रेयसस बिहीबार तीन दिने औपचारिक भ्रमणका लागि आउन लागेका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा. अधानोम गेब्रेयसस नेपाल आउने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले जानकारी दिइन्। नेपाल भ्रमणमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्यमन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग महानिर्देशक डा. अधानोम गेब्रेयससले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको प्रवक्ता मिश्राले जानकारी दिइन्। 

प्रवक्ता मिश्राका अनुसार नेपाल भ्रमणका क्रममा महानिर्देशक डा. अधानोम गेब्रेयससले टाइफाइटविरुद्धको खोप अभियानको अवलोकन गर्नेछन्। ‘दुईवटा कार्यक्रम उहाँले हेर्नुहुन्छ,’ प्रवक्ता मिश्राले भनिन्,‘ दक्षिण एसियामा नै पहिलो पटक हाम्रो टाइफाइड क्याम्पियन हुँदैछ। त्यसको अवलोकन गर्नुहुन्छ। त्यो पाटन स्कुलबाट हुन्छ। पाटन हाइस्कुलको अनुगमन हुन्छ।’

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जिन सिक्वेन्सिङका विषयमा समेत महानिर्देशक डा. अधानोम गेब्रेयससले अवलोकन गर्ने मिश्राले जानकारी दिइन्। उनले भनिन्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)मा जिन सिक्वेनसिङ फ्यासिलिटी हेर्नुहुन्छ।’

महानिर्देशकले डा. अधानोम गेब्रेयससले सरकारी उच्च अधिकारीहरू, नेपालस्थित संयुक्त राष्टसंघ र विश्वस्वास्थ्य संगठनका प्रतिनिधि लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ। बिहीबार नेपाल भ्रमणमा आउने डा. अधानोम गेब्रेयसस शनिबार १० गते फर्कने कार्यक्रम रहेको छ।

७ बैशाख, २०७९, २१:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।