१७ वर्षमै ब्याट्रीबाट चल्ने साइकल बनाए, अब इञ्जिनियरिङ पढेर आविष्कारक बन्न चाहन्छन् प्रकाश

१७ वर्षमै ब्याट्रीबाट चल्ने साइकल बनाए, अब इञ्जिनियरिङ पढेर आविष्कारक बन्न चाहन्छन् प्रकाश

सुर्खेत : वीरेन्द्रनगर–७ का १७ वर्षीय प्रकाश श्रीकृष्ण संस्कृत तथा साधारण माध्यामिक विद्यालयमा कक्षा–९ मा अध्ययन गर्दैछन्।

कोरोना महामारीको दोस्रो लहरमा सबै शैक्षिक संस्थाहरू बन्द भए। प्रकाशको विद्यालय पनि बन्द भयो। उनी फुर्सदिला भए। 

पहिलादेखि नै उनमा विभिन्न कुराहरूको निर्माण गर्ने रुचि थियो। पढाइका कारण समय मिलाउन नसकेर आफूले चाहेको बनाउन पाएका थिएनन्।

लकडाउनको समयको सदुपयोग गर्दै उनले ब्याट्रीबाट चल्ने साइकल बनाउन खोजे। त्यो बनाउन आवश्यक पर्ने सामग्री किन्न उनीसँग पैसा थिएन। 

उनका बुवाआमा पनि सामान्य मजदूरी गरेर जीविका चलाउने भएकाले उनलाई ब्याट्रीबाट चल्ने साइकल बनाउन त्यति सहज पनि थिएन। साइकल बनाउन कम्तीमा पनि प्रकाशलाई ५० हजार रुपैयाँ आवश्यक पर्थ्यो।

सहयोग माग्न पनि उनले कसैलाई चिनेका पनि थिएनन्। नगरपालिकाबाट केही सहयोग पाइन्छ की भनेर उनी वीरेन्द्रनगर नगरपालिकाको कार्यालयसम्म आए। नगरपालिकाले यस्ता विषयमा बजेट नभएको भन्दै रित्तो हात फर्कायो। 

प्रकाशको रुचि देखेर उनका बुवाले ऋण गरेरै भए पनि ५० हजार रुपैयाँ दिए। प्रकाशले १५ दिनमा ब्याट्रीबाट चल्ने साइकल बनाए। 

आफूसँग पर्याप्त रकम नहुँदा सानो ब्याट्रीबाट चार घण्टासम्म उकालो ओराले चल्न सक्ने क्षमताको साइकल बनाएको प्रकाश बताउँछन्। ठूलो पावरको ब्याट्री हाल्दा २४ घण्टासम्म हिँड्न मिल्ने उनको दावी छ।

‘कोरोनाको दोस्रो लहरमा सबै विद्यालय पनि बन्द भए। यातायातका साधन पनि चलेनन्। यो खाली समयमा ब्याट्रीबाट चल्ने साइकल बनाउने सोच राखेँ। त्यो बनाउन कम्तीमा पनि ५० हजार रुपैयाँ लाग्थ्यो,’ प्रकाशले भने, ‘सहयोगका लागि वडा कार्यालय र नगरपालिकामा गएँ। कसैले सहयोग गरेनन्। बुवाले अरूबाट ऋण तानेर ५० हजार दिएपछि साइकल बनाएँ।’

सरकारले आफूलाई सहयोग गरे ब्याट्रीबाटै चल्न सक्ने अटो बनाउने उनको सपना रहेछ। नेपालमा विद्यार्थीले रुचि राखेको शिक्षामा सरकारले सहयोग गर्नुपर्ने बताउँछन् उनी। 

‘सरकारले आवश्यक सहयोग गरे ब्याट्रीबाट चल्ने साइकल, अटो र मोटरसाइकल बनाउन सक्छु,’ उनले दावी गरे, ‘मेरो रुचि भनेकै इञ्जिनियरिङ पढेर आविष्कारक बन्ने हो।’

प्रकाशका अनुसार अहिले उनले निर्माण गरेको ब्याट्रीबाट चल्ने साइकलको मूल्य ६५ हजार रुपैयाँ पर्छ। उनी अहिले पनि के-के बनाउन सकिन्छ भने सोचिइरहन्छन्। 

तर आवश्यक पैसा नहुँदा उनले सोचे अनुसारको काम गर्न पाएका छैनन्।

ब्याट्रीबाट चल्ने साइकल बनाउन सकेपछि उनी उत्साहित देखिन्छन्। उनलाई अझ अन्य परीक्षण र प्रयोग गर्ने रहर पनि छ। तर पैसा छैन। 

उनको जोश र मेहनतलाई अहिलेदेखि नै निखार्दै लग्ने हो भने आविष्कारक बन्न पनि सक्छन्।

२७ फागुन, २०७८, ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।