इखेनीबासीको संघर्ष : १६ वर्षपछि हट्यो भेरीको धमिलो पानी खानुपर्ने बाध्यता

इखेनीबासीको संघर्ष : १६ वर्षपछि हट्यो भेरीको धमिलो पानी खानुपर्ने बाध्यता

सुर्खेत : वि.सं. २०६२ साल, जतिबेला माओवादीको सशस्त्र द्वन्द्व अन्तिम-अन्तिम हुँदै थियो।

सुर्खेतको बराहताल गाउँपालिका-६, इखेनीमा घना जंगल भएको जमिन थियो। तत्कालीन विद्रोही माओवादीले जग्गा नभएका भूमिहीन सुकुम्बासीलाई घरजग्गा दिने अभियान अन्तर्गत जंगल मासेर बस्ती बसाले।

सो जमिनमा सुर्खेत, जाजरकोट, कालिकोट, दैलेख, प्युठान र अछामका ८५ घरधुरी बसे। अहिले त्यो संख्या बढेर १०५ घरधुरी पुगेको छ। त्यहाँ बसोबास गर्ने २० घरधुरी त बालबच्चासहित भारतमै बसेका छन्।

बस्ती त बसालियो तर त्यो बस्तीमा खानेपानी, सडक, विद्युत, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सुविधाको अभाव भने खड्किरह्यो।

भर्खर बसालिएको बस्ती भएका कारण माटो पनि त्यति मलिलो थिएन। पानी नहुँदा उत्पादन पनि हुन्थेन। आकासे पानीकै भरमा मकै र गहुँ लगाइन्थ्यो। त्यो पनि खासै उब्जनी हुन्थेन। त्यसपछि जीविका चलाउनका लागि यहाँका स्थानीयको प्रमुख स्रोत भनेकै भारतको कालापहाड बन्यो। त्यहाँबाट ल्याएको पैसाले बालबच्चालाई पालनपोषण बाहेक अरु केही गर्न सकिँदैनथ्यो।

बस्ती बसालिएको पाँच वर्षपछि बल्लतल्ल प्राविसम्म गाउँमै विद्यालय भयो। प्राविसम्म अध्ययन गरेर माथिल्लो तहमा नपढ्दै भारत जाने र पढाइ छोडेर विवाह गर्नेहरुको संख्या पनि उत्तिकै थियो। यी सबै समस्यामध्ये सबैभन्दा ठूलो समस्या त पानीकै थियो। 

बस्ती बसेको १६ वर्षपछि यहाँका स्थानीयले भेरी नदीको धमिलो पानी खानुपर्ने बाध्यताबाट अहिले आएर छुटकारा पाएका छन्।

गैरसरकारी संस्था रिनुएवल वर्ल्ड र बराहताल गाउँपालिकाको सहकार्य तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा गाउँमा ८६ वटा धारा निर्माण गरिएका छन्। ६६ लाख १५ हजारको लागतमा भेरी नदीको पानी सोलार पम्पिङमार्फत ट्याङ्कीमा जम्मा गरी ८६ वटा धारामा २४सै घण्टा पानी आउँदा पानीको संकट टरेको स्थानीय चक्र विकले बताए।

‘घना जंगल फाँडेर बस्ती बसे पनि सबै कुराको अभाव नै थियो। सबभन्दा बढी त पानीकै दुःख थियो। हिउँद होस् या वर्षा भेरी नदीको धमिलो पानी कपडामा छानेर खानुपर्ने बाध्यता थियो,’ चक्रले भने, ‘अहिले २४सै घण्टा धारामा पानी आउँछ। खान त भइहाल्यो, बारीमा तरकारी लगाउन समेत पुगेको छ।’

आयोजनाको दिगोपनाका लागि पानी प्रयोग गरेवापत एक घरले महिनाको एक सय रूपैयाँ शुल्क तिर्ने गरेका छन्। 

उनले भेरीको धमिलो पानी ल्याउन पनि आधा घण्टा पैदल गएर बोक्नुभन्दा महिनामा सय रुपैयाँ तिर्न समस्या नभएको भन्दै तरकारीबाटै केही आम्दानी गर्न सकिने बताए।

‘हामीले पानी पाउनका लागि पनि १६ वर्ष संघर्ष गर्नुपर्यो। अहिले गैरसरकारी संस्थाको पहलमा बस्तीमा पानी आयो,’ उनले भने, ‘माओवादीले बस्ती बसायो, माओवादी पनि सरकारमा गयो, कांग्रेस र एमाले सरकारमा गए। हामीले भोट हालेर वडा र गाउँपालिकामा जनप्रनिधि पठायौं तर उहाँहरुले आश्वासन बढी, काम कम गर्नुभयो।’

४० हेक्टर बढी जमिन भएको इखेनीमा सिंचाइको व्यवस्थापन गर्न सके तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न सकिने अर्की स्थानीय ज्ञानु बादीले बताइन्।

‘यहाँको ४६५ जनसंख्यामध्ये करिब ९५ प्रतिशत भारत जाने गरेका छन्,’ उनले भनिन्, ‘जसमध्ये ८५ प्रतिशत त दलित नै छन्। यदि बस्तीमा सिंचाइको व्यवस्थापन गर्न सके तरकारीबाटै लाखौं आम्दानी गर्न सकिन्छ। कसैले पनि भारत जानु पर्दैन।’

यहाँका नागरिकको प्रमुख आम्दानीको स्रोत भनेकै भारतमा रोजगारी हो। गाउँमा एउटा मात्रै जनजागरण प्रावि छ। माविसम्म पढ्नका लागि दुई घण्टाभन्दा बढी पैदल हिँड्नुपर्छ।

त्यस कारण पनि पाँच कक्षा पास गरेपछि भारत जानुपर्ने बाध्यता रहेको श्याम सुनारले बताए।

‘मैले पनि कक्षा पाँचसम्म पढें। माथि पढ्न स्कुल टाढा छ। उतै डेरा गरेर बसौं भने आर्थिक अवस्थाले पुग्दैन,’ सुनारले भने, ‘त्यसैले म अहिले पनि भारत जाने तयारीमा छु। गाउँमा एसइई पास गरेका मानिसहरु नै पाउन मुस्किल पर्छ।’ 

अहिले हिउँदमा बस्ती नै सुनसान देखिन्छ। गाउँमा कोही मान्छेको निधन भए पनि मलामी जाने मान्छे नपाउने स्थिति आएको स्थानीय पुरन नेपालीले बताए।

अझै पनि इखेनीका स्थानीयले सिटामोल खान र सुरक्षित सुत्केरी गराउन घण्टौं पैदल हिँडेर जानुपर्ने बाध्यता छ।

१२ मंसिर, २०७८, १३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।