पाँच प्राणी, पाँच व्यायाम

पाँच प्राणी, पाँच व्यायाम
तस्बिर : स्पाइनयुनिभर्स डट कम।

मौसम, भूगोल, जनावर, वनस्पति लगायतबाट हामी आफ्नो शरीर र मन अनुकूलन बनाउन सिक्छौँ। त्यसैगरी व्यायामका विभिन्न विधि अपनाउने क्रममा पशुपक्षीका चाल विधि अपनाउन सक्छौँ। 

पशुपक्षीका चाल विधि अपनाई गरिने व्यायामलाई ‘चि गोंग’ का नामले चिनिन्छ। बाघ, भालु, चरा, माछा, मृग, बाँदर, घोडाजस्ता पशुपक्षीको चालमा व्यायाम गर्न सकिन्छ। पशुपक्षीका चाल विधि अपनाउनाले शारीरिक तथा मानसिक रुपमा व्यक्ति फिट रहन सकिन्छ। प्राकृतिक चिकित्सकीय दृष्टिकोणमा पनि यस्ता व्यायाम लाभदायक देखिएको छ। 

सुरुमा चर्चा गरौँ बाघको चालमा गरिने व्यायामको बारेमा। 

बाघको चाल

बाघ जंगलको राजा मानिन्छ। यसको हाउभाउ बडो शान्दार हुन्छ। गर्जनले जंगल नै थर्किन्छ। एउटा भनाइ नै छ ‘बाघ बरु भोकै बस्छ तर, घाँस खाँदैन।’

अब बाघको चालमा कसरी व्यायाम गर्न सकिन्छ भन्ने लाग्न सक्छ। तर, अध्ययनअनुसार बाघको हाउभाउको चाल अपनाइ व्यायाम गर्नु निक्कै लाभदायक देखिएको छ। 

बाघको चाल विधि अपनाई व्यायाम गर्दा सर्वप्रथम बाघले पञ्जा फिँजाएजस्तै गरी हात तन्काएर पञ्जा फिँजाउनुपर्छ। हात फिँजाएपछि बाघले जिउ तन्काए जसरी तनक्क तन्काएर मर्काउनुपर्छ। 

त्यसैगरी बाघ उभिएर गर्जेको जस्तैगरी फेरि खुट्टा उचाल्ने अगाडि सर्ने र हातलाई पछाडि तान्ने गर्नुपर्छ। 

अब चर्चा गरौँ भालुको चाल व्यायामको बारेमा। 

भालुको चाल

जंगली जनावर भालु हेर्दा यसको हाउभाउ पनि बडो रोमाञ्चक र सुन्दर देखिन्छ। 

भालुले बच्चा खेलेको जस्तै हाउभाउ गर्छ। सुस्त किसिमले हिँड्ने भालुलाई रिस उठ्यो भने आक्रामक व्यवहार देखाउँछ। भालुको चालमा व्यायाम गर्दा सुरुमा हातखुट्टा तथा शरीरका अंग लल्याकलुलुुक पार्दै चारैतिर दायाँबायाँ, तलमाथि चक्राकारमा चलाउनुपर्छ। विशेषगरी एउटा हातले कुम र अर्को हातले कम्मरमा छुँदै छोड्न सकिन्छ। 

बच्चाले लरबराउँदै खुट्टा टेकेर हिँडेजस्तै गरी पाइला सार्दै भालु हिँड्छ त्यसैगरी हिँड्न सकिन्छ। यस किसिमका व्यायामका लागि धेरै शक्ति आवश्यक नपर्ने हुनाले पाको उमेरका व्यक्तिका लागि पनि भालुको चाल व्यायाम उचित हुन्छ। 

यस किसिमको व्यायामले शरीरका हाडजोर्नी लचिलो हुनुका साथै मजबुत हुन्छन्। जसले गर्दा छिट्टै पाको उमेरको महसुस हुनबाट पनि बच्न सकिन्छ। गर्धन, घाँटी, कम्मर, हातखुट्टामा यो व्यायाम प्रभावकारी हुन्छ। दैनिक यस किसिमको व्यायाम दस मिनेट गर्नु उचित हुन्छ। 

मृगको चाल

त्यसैगरी जंगलको शोभा दिने जनावर हो मृग। मृगको शरीरको बनावट बडो सुन्दर देखिन्छ। मृग जसरी चार पाउ फालेर उफ्रन्छ त्यसैगरी उफ्रन सकिन्छ। तर, यसरी उफ्रँदा शरीर तथा हातखुट्टा हल्का बनाएर अगाडि फुत्रुङ–फुत्रुङ उफ्रनुपर्छ। 

जसरी मृगले सिंङ ठाडो पार्दै सिंगौरी हान्छ त्यसैगरी टाउको हल्का बटार्दै पछाडि हेर्दै दायाँबायाँ गर्न सकिन्छ। मृग भाग्न खोज्दा जसरी कान ठाडोपारी छुनमुन गर्छ त्यसैगरी टाउको ठाडो पारेर अगाडिपछाडि लम्कँदै दायाँबायाँ मुन्टो बटार्न सकिन्छ। यस्तो व्यायामको विधि अपनाउँदा मुन्टो तथा कम्मरको लचकतामा मद्दत मिल्छ। यस्तो व्यायामले मुन्टो, काँध, तथा कम्मर सड्कने, दुख्ने, मर्किनेजस्ता जोखिमबाट बच्न सकिन्छ। 

अब चर्चा गरौँ पक्षीको चाल विधि अपनाई गरिने व्यायामको बारेमा। 

पंक्षीको चाल

हामीले घरैमा पालेका खुखुरा परेवाको हाउभाउका आधारमा पनि व्यायाम गर्न सक्छौँ। विशेषगरी चराचुरुंगीहरु स्वतन्त्र रुपमा सननन...हावामा उड्छन्। चराचुरुंगीहरु हावामा कावा खाएर सनन्... आनन्दले उडेको देख्दा कस्को मन फुरुङ नहोला र ?

यस्तै, चराचुरुंगीको चालको आधारमा व्यायाम गर्दा सबैभन्दा पहिले शरीर हल्कागरी हात फैलाउनुपर्छ। चरा उठ्नका लागि तयार भएजसरी हात फैलाउँदै जमिनलाई छोड्न लागेको जस्तैगरी हल्का खुट्टा चाल्दै अगाडि बढ्नुपर्छ। यसरी अगाडि बढ्दा साँच्चै चरा उड्न लागेको जस्तै हाम्रो शरीरको आकृति देखिन्छ। 

त्यसपछि चराले पखेँटा फैलाउँदै छोड्दै फट्याक फट्याक गरे जस्तैगरी हात फैलाउँदै छोडिन्छ। चरा उड्दा टाउको तन्काएजसरी टाउको पनि अगाडि तन्काउँदै खुम्च्याउनुपर्छ। तर, व्यायाम गर्दा शरीर भने हल्का किसिमको बनाउनुपर्छ। शरीरका अंग फुक्दा श्वास तान्ने र खुम्चाउँदा श्वास छोड्ने गर्नुपर्छ। यस्तो किसिमका व्यायामले विशेष गरी श्वासप्रश्वास प्रणाली मजबुत हुन्छ। जसले श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने जोखिमबाट बच्न सकिन्छ। 

माछा चाल

माछा पानीमा सननन... तैरिने शान्त जीव हो। हामीले व्यायाम गर्दा माछा पानीमा तैरिएजस्तै स्विमिङ नगरिकन पनि व्यायाम गर्न सक्छौँ। माछा पानीमा पौडिएजसरी व्यक्ति हल्का निहुरिएर पानीमा हेलिए जस्तैगरी हात अगाडि फैलाउँदै पछाडि बिस्तारै तान्नुपर्छ।

यस्तो किसिमको व्यायाम करिब १० मिनेट गर्न सकिन्छ। यस्तो किसिमको व्यायामले शरीरका अंग नै चलायमान हुने भएकाले पूर्णरुपले लाभदायक हुन्छ। 

यी सबै पशुपक्षीको चाल जसरी व्यायाम गरिसकेपछि करिब पाँच मिनेट वामअप गर्न आवश्यक हुन्छ। 
  

३० असोज, २०७७, ०१:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।