घासीरामले नागरिकता कहिले लिए ?, लालपुर्जामा मिति २०१८, बहसमा भनियो २०१०

घासीरामले नागरिकता कहिले लिए ?, लालपुर्जामा मिति २०१८, बहसमा भनियो २०१०

काठमाडौँ : नागरिकताको विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई न्यायायीक हिरासतमा राख्ने कि छाड्ने भन्ने विषयमा बुधवार अदालतमा भएको बहसमा प्रतिवादी पक्षले सिरोहियाको बाबु घासीरामले २०१० असार १ मा अङ्गीकृत नागरिकता लिएको तर्क गरे।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले सिरोहियालाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न माग गर्नेक्रममा बुधवार जिल्ला अदालत धनुषामा ०३३/३४ को बालिग रेकर्डमा विदेशी बाबु आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घसिराम माडवारीका सन्तानहरू गोपालप्रसाद सिरोहिया, गोविन्दप्रसाद सिरोहिया र पुनमकुमारी सिरोहियाको नागरिकता अङ्गीकृत नेपाल भएको र कैलाशप्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको' तर्क गरेका थिए।

त्यसको प्रतिउत्तरमा कैलाश पक्षका कानुनी सहयोगीकोतर्फबाट घासिराम २००९ देखि २०३४ सालसम्म निरन्तर नेपालमा रहेको र २०१० असार १ मा नागरिकता प्राप्त गरेको तर्क गरेका थिए।

'त्यतिबेला नेपालमा नागरिकता ऐन २००९ र नियम २००९ कार्यान्वयनमा रहेको र घासिरामले २०१० असार १ मा अङ्गीकृत नागरिकता पाएको तथा कैलाश सिरोहिया २०१९ मा जन्मिएकाले वंशजको नागरिक भएको जिरह गरेका थिए।

अनुसन्धानकोक्रममा घासिराम माडवारीको नागरिकताको प्रतिलिपि प्रहरीले फेला पारेको देखिएन। तर अनुसन्धानकोक्रममा प्रहरीले जग्गाको लालपुर्जा भने फेला पारेको छ।

उकेराले प्राप्त गरेको जग्गाको लालपुर्जामा उल्लेख भएको घासिरामको नागरिकता लिएको मिति र कैलाश सिरोहियाको पक्षबाट बहस गरेका कानुन व्यवसायीले बुधवार दाबी गरेको मिति भन्दा भिन्न छ।

जग्गाधनी पुर्जामा महिना र गते मिल्छ तर वर्ष मिल्दैन। लालपुर्जामा उनले नागरिकता लिएको मिति २०१८ असार १ गते र नागरिकता लिएको स्थान महोत्तरी सर्लाही गोश्वारा उल्लेख छ।

०३३/३४ को बालिग रेकर्डमा घासिरामको नागरिकताको प्रकार अङ्गीकृत लेखिएको। जग्गा धनी पुर्जामा उल्लेखित नागरिकता लिएको मितिको आधारमा रेकर्ड खोज्दा अनुसन्धान अधिकारीहरूले फेला पार्न सकेको देखिएन।

स्रोतका अनुसार गृहमा २०१५ सालदेखि जारी अङ्गीकृत नागरिकहरूको विवरणमा २ सय २३ जनाको नाम उल्लेख छ। २ सय २३ मध्ये २९ जना पुरुषले अङ्गीकृत नेपाली नागरिकता लिएको देखिन्छ। तर यो सूचीमा घासिरामको नाम उल्लेख छैन।

'अहिलेसम्मको अनुसन्धानमा घासिराम माडवारीको नाममा २०१८ असार १ गते नागरिकता जारी भएको मिति खुलेको थियो। तर अहिले २०१० को दाबी आएको छ,' अनुसन्धानरत स्रोतले उकेरालाई भन्यो'२०१५ देखिको अङ्गीकृतको सूचीमा विवरण फेला परेको छैन। २०१० दाबी गरेकाले थप प्रमाण खोज्दै छौँ।'

बुधवारको बहसमा गरिएको २०१० मा नागरिकता लिएकोबारे कैलाश समूहका कानुनी सहयोगीसँग औपचारिक कुरा गर्ने उकेराको प्रयास सफल भएन। एक सदस्यले अनौपचारिक रूपमा २०१० मा नागरिकता लिएको प्रमाण रहेको र सो प्रमाण अदालतमा पेस गर्ने जानकारी दिए।

२००९ को कानुनमा छैन वर्गीकरण

प्रतिवादीको तर्फबाट बहसकोक्रममा नागरिकता सम्बन्धी २००९ को ऐन र नियम अनुसार घासिरामले नागरिकता लिएको दाबी गरियो।

तर सो ऐन र नियममा कस्ता व्यक्तिले नेपाली नागरिकता पाउन सक्ने उल्लेख गरिए पनि नागरिकताको प्रकार भने उल्लेख छैन।

नेपाली नागरिकताको ऐन २००९ मा प्रत्येक व्यक्ति, जो नेपालको राज्यको आदिवासी हो उसले निम्न लिखित सर्तहरूमा कमसेकम एक पूरा गरेमा नेपालको नागरिक ठहर्ने उल्लेख छ।

ती सर्तहरूमा,

क. जो नेपाल राज्यमा जन्मेको हो।

ख. जसको आमा बाबुमा एकजना नेपाल राज्यमा जन्मेको हो। नेपाल राज्य- भित्र आफ्नो स्थायी वासस्थान कायम गर्ने उद्देश्यले सपरिवार बसोबास गर्ने मानिस यहाँका आदिवासी ठहर्ने उल्लेख छ।

ऐनको दफा ३ मा नेपाल राज्यको कानुन र रितबमोजिम नेपाली नागरिकको साथ कुनै किसिमको वैवाहिक सम्बन्ध भएको स्वास्नी मानिस नेपाली नागरिक ठहर्ने उल्लेख छ।

तल लेखिएका कुनै श्रेणीका मानिसले नियमन तोकिएका अधिकारीलाई आवेदन पत्र दिएर नेपालको नागरिकता प्राप्त गर्न सक्ने उल्लेख छ।

दफा ४ मा नेपालमा जन्मेको वा विदेशमा घरबार भएपछि त्यहाँको नागरिकता नपाएका नेपाली आमा बाबुबाट विदेशमा जन्मेका केटाकेटी, नेपाली नागरिक आमाबाबुबाट जन्मेका महिलाको विदेशीसँग वैवाहिक सम्बन्ध भएपछि लोग्ने मरी वा वैवाहिक सम्बन्ध तोडिएपछि अथवा पारपाचुके भएपछि वा श्रीमानले हेरचाह नगरी परित्यक्त भएमा वा अलग भएमा नेपाली नागरिकता पाउन सक्ने उल्लेख छ।

यसैगरि, नेपाल छाडी विदेशमा गई बसोबास गरी विदेशी मुलुकका नागरिकता लिएका र तिनका साथमा आएका सन्तानसमेतलाई नेपाल राज्य क्षेत्रमा आएर लगातार बसेका एक वर्षपछि नागरिकता दिन सक्ने समेत उल्लेख छ।

जसले नेपाल राज्यमा कमसेकम ५ वर्षदेखि निवास गरेको हो उ पनि नेपाली नागरिक हुनसक्ने उल्लेख छ। नागरिकता दिँदा वंशज या जन्मको आधारमा या अङ्गीकृत भनेर वर्गीकरण २००९ को नागरिकता ऐनमा देखिन्न। नागरिकता ऐन २०२० मा मात्र यस्तो उल्लेख गरेको देखिन्छ।

सम्बन्धित समाचार

जेठ १०, २०८१ बिहीबार १५:०७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।