भौगोलिक कठिनाइका कारण बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

भौगोलिक कठिनाइका कारण बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

काठमाडौं : शनिबार उपनिर्वाचन भएको बझाङ १ (१) मा हेलिकप्टरबाट मतपेटिका ल्याइँदैछ। मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी छ। 

साइपाल गाउँपालिकाको दुई वटा मतदान केन्द्रमा खसालिएको मतपेटिका भौगोलिक कठिनाइका कारण मतगणनास्थल पुर्याउन समस्या भएका कारण मतगणनामा ढिलाइ भएको हो। 

सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहका अनुसार ती मतपेटिका लिन अहिले बिहान हेलिकप्टर पठाइएको छ। 

‘साइपाल गाउँपालिका–३ को काडा मावि र वडा नम्बर ५ को सामुदायिक भवन मतदान केन्द्रको मतपेटिका लिन हेलिकप्टर पठाएका छौँ,’ उनले भने, ‘मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बस्ने तयारी छ। त्यसपछि मतगणना सुरु हुन्छ।’

६१ हजार ७ सय ४८ जना मतदाता रहेको बझाङमा शनिबार साँझसम्म संकलित विवरणअनुसार बझाङमा कूल ३० हजार ३ सय २८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मतदान व्यवस्थित र सुरक्षित बनाउन बझाङमा १५ सय जना बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।

उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। 

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रित्त पदमा गराइएको उपनिर्वाचनमा कांग्रेसबाट सिंहकै छोरा अभिषेक उम्मेदवार छन्। यस्तै, माओवादी केन्द्रका जनक बुढा, एमालेका दमन भण्डारी तथा एकीकृत समाजवादीका दिलबहादुर सिंह लगायत उम्मेदवार छन्।

१६ बैशाख, २०८१, ०८:२३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।