लगानी सम्मेलनको पूर्वसन्ध्यामा पुँजी बजार संघर्ष समितिको विरोध

लगानी सम्मेलनको पूर्वसन्ध्यामा पुँजी बजार संघर्ष समितिको विरोध

काठमाडौं : पुँजी बजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन्। 

शनिबार काठमाडौंको माइतीघरमा संघर्ष समितिले सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न खोजको तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै आन्दोलन गरेको हो। 

आन्दोलनमा सहभागीहरूले ‘हामी लगानीकर्ता हौं, भिखारी होइनौं’,‘मौलिक हक अधिकारको सुरक्षा गर’,‘लगानी क्याम्प खारेज गर’, ‘लगानीकर्तालाई विदेश पलायन गर्ने कार्य बन्द गर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। 

कार्यक्रममा पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले सरकारले पहिले लगानी सम्मेलन गरिसकेको भएपनि केही उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए।

स्वदेशी लगानीकर्ताले उठाएका मागहरू तत्काल सुनुवाइ गरी लगानीको वातावरण बनाएमा नेपाली लगानीकर्ताले पनि राम्रोसँग लगानी गरी देशलाई धनी बनाउन सक्ने उनको दाबी छ। 

उनले भने, ‘सरकारको करोडौं बजेट खर्च गरेर नाटक नगरेको राम्रो। पहिले काम गर्नुपर्छ। वातावरण बनाउन हामीले ध्यानाकर्षण गराएका हौं। लगानी सम्मेलन तीन चारवटा भइसक्यो अहिलेसम्म कुनै उपलब्धि हासिल भएको छैन। त्यसैले यस्तो नाटक गर्नुभन्दा हामी लगानीकर्ताले उठाएका कुराहरू तत्काल सुनुवाइ होस्। एउटा वातावरण बनोस् हामी आफै त्यो भूमिका खेल्छौँ। नेपाली लगानीकर्ताले पनि राम्रोसँग लगानी गर्छौँ। देशलाई धनी बनाउँछौँ।’

उनले लगानीकर्ता भनेपछि चोर, डाँका, फटाहा र सामन्त भन्ने भाष्य सिर्जना गरेकोमा आपत्ति जनाउँदै देशका नेताहरू र कर्मचारीतन्त्रमा गलत सोचाइ हाबी भएको बताए। नीति, नियम, पूर्वाधार र नियमन राम्रो बनाएर लगानीकर्ताको बजार सुनिश्चित गर्न उनले माग गरे। 

सरकारले तेस्रो लगानी सम्मेलन यही वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना गर्दैछ। सम्मेलनमा १ सय ५१ परियोजनाहरू प्रस्तुत गर्ने कार्यक्रम छ। 

१५ बैशाख, २०८१, १६:४०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।