'कामै नसकिई' पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पाँच अर्ब रुपैयाँ ठेकेदारलाई दिलाउन चिनियाँ दूतावासै सक्रिय, अख्तियार धाउँदै महानिर्देशक अधिकारी

'कामै नसकिई' पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पाँच अर्ब रुपैयाँ ठेकेदारलाई दिलाउन चिनियाँ दूतावासै सक्रिय, अख्तियार धाउँदै महानिर्देशक अधिकारी

काठमाडौँ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा चिनियाँ कम्पनीलाई पूरै रकम नदिएको भन्दै भुक्तानीका लागि नेपालस्थित चिनिया दूतावासै सक्रिय भएको छ। दूतावासले विमानस्थलको बाँकी रकम भुक्तानीका लागि नेपाल सरकारलाई कूटनीतिक पत्र नै पठाइसकेको छ।

नेपाल स्थित चिनियाँ दूतावासले जनवरी २३ मा पठाएको पत्रमा विमानस्थल हस्तान्तरण भइसकेको र हस्तान्तरण भएपछि छिटपुट काम एक वर्षमा गरिसक्नु पर्नेमा काम २०२३ डिसेम्बर २८ मा सम्पन्न भइसकेको कारण ठेकेदारलाई रकम भुक्तानी दिन’ भनिएको छ।

पत्रमा चिनियाँ एक्जीम बैंकको कुल ऋणको १५ प्रतिशत रकम लैजान अर्थ मन्त्रालयलाई पटक पटक काटेको पत्र समेत राखिएको छ।

तर विमानस्थल निर्माणकोक्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग बयान लिएपछि तत्काल बाँकी रकम भुक्तानी रोकिराखेको देखिन्छ। प्राधिकरणका अधिकारीहरू भने कामै नसकिएकाले भुक्तानी नभएको बताउँछन्।

एक्जीम बैङ्कले ऋण सम्झौताको अवधि २०२४ मे ३१ मा सकिने भएकाले छिटो ऋण लैजान नत्र ऋण रकम रद्ध हुने ब्यहोराको पत्र अर्थ मन्त्रालयलाई पठाएको थियो। २०२३ डिसेम्बर २३ र २०२४ जनवरी ४ मा पत्र पठाएको देखिन्छ।

चिनियाँ राजदूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको कूटनीतिक पत्रमा एक्जिम बैंकको दुवै पत्र समावेश गरिएको थियो। चिनियाँ कूटनीतिक पत्र परराष्ट्र मन्त्रालय मार्फत अर्थ मन्त्रालय पुग्यो । अर्थ मन्त्रालयले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई माघ २४ गते पत्र पठाएको थियो।

उड्डयन मन्त्रालयले पठाएको पत्रमा ‘पोखरा अन्तराष्ट्रिय विमानस्थल परियोजनाको लागि भएको ऋण सम्झौताको अवधि २०२४ मे ३१ मा सकिने सम्झौता अनुसार हालसम्म १५ प्रतिशत रकम खर्च हुन बाँकी रहेको ऋण अवधि समाप्त भए पश्चात् स्वतः रद्ध हुने, त्यस्तै हस्तान्तरण भएको एक वर्ष भित्र गरिसक्नु पर्ने काम पनि डिसेम्बरमा सकिएकाले अब पूर्ण रूपमा काम ‘टेक ओभरका’ काम सक्नलाई पत्राचार भएको’ लेखिएको छ।

पर्यटन मन्त्रालयले माघ २६ गते प्राधिकरणलाई राय सहित आवश्यक विवरण स्पष्ट खुलाइ यथाशीघ्र पठाउनु भन्दै पत्र पठायो। तर अहिलेसम्म प्राधिकरणले पर्यटन मन्त्रालयलाई पत्र पठाएको छैन।

मन्त्रालयका सहसचिव एवं नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले प्राधिकरणले पठाएको विवरण आफूकोमा नआइपुगेको बताए।

‘प्राधिकरणले पत्र पठाए यही विभागमा आउने हो। अहिलेसम्म आएको छैन,’ उनले भने,‘पठाउँदै हुनुहुन्छ कि।’

कामै सम्पन्न नभई हस्तान्तरण

चीनको एक्जिम बैंकको ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सकेको छैन। निर्माणकोक्रममा व्यापक अनियमितता भएको विषय संसद्मा समेत उठिरहेको छ भने अख्तियारले समेत छानबिन गरिरहेको छ।

अहिले बाँकी रहेको रकमको भुक्तानीका लागि चलिरहेको पत्र व्यवहारले विमानस्थल निर्माणको कामै नसकिई हतारमा हस्तान्तरण भएको खुल्छ।

विमानस्थलको निर्माणको काम २०१७ जुलाई ११ बाट सुरु भएको थियो। विमानस्थल निर्माण काम चिनियाँ कम्पनी ‘चाइना सिएमसी  इन्जिनियरिङ कम्पनी लिमिटेडले गरेको थियो।

२०७९ पुस १ गते विमानस्थल निर्माण सम्पन्न भएको भन्दै चिनियाँ विदेशमन्त्री र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए।

चीनले निर्माणको काम सकिएको भन्दै हस्तान्तरण पत्र पनि दियो। पत्रमा केही छिटपुट काम एक वर्ष भित्र गरिसक्ने उल्लेख थियो। तर प्राधिकरणले उपलब्ध गराएको विवरणमा चिनियाँ पक्षले बाँकी काम गरेको देखिएन।

प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले उकेरासँग कामै नगरी रकम मागेपछि भुक्तानी नभएको समेत खुलाए।

‘छिटपुट काम डिसेम्बर २८ सम्म सक्नुपर्ने हो। उहाँहरूले त्यो काम सक्नुभएको छैन। जति काम गर्नु भएको छ त्यो बिल पेस गर्नुभयो भने हामी भुक्तानी दिन्छौँ,’ उनले भने, ‘सम्झौता अनुसार कामै नभएपछि कसरी भुक्तानीका लागि पत्र लेख्न सक्छौँ र?’

चिनियाँहरूको नियत नै पूरै काम नगर्ने तर कूटनीतिक नियोग प्रयोग गरेर रकम लिने देखिन्छ।

उपमहानिर्देशक निरौलाका अनुसार  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कुल लागत २२ अर्ब रुपैयाँ हो। त्यसमा केही काम हुन बाँकी रहेकाले १५ प्रतिशत रकमको भुक्तानी रोकिएको छ। अहिलेको विनिमय दर अनुसार करिब पाँच अर्ब कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको देखिन्छ।

सो रकम एक्जिम बैंकको ऋण हो। नेपालले एक्जिम बैंकलाई भुक्तानीका लागि पत्र लेखिदिए मात्र मात्र ठेकेदार कम्पनीले सो रकम भुक्तानी पाउन सक्छ।

सम्झौता अनुसार कम्पनीले काम गर्ने, बिल पेस गरेपछि प्राधिकरणले सोही अनुसार भुक्तानीको टिप्पणी उठाएर पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयलाई पेस गर्ने अनि अर्थ मन्त्रालयले एक्जीम बैंकलाई पत्र पठाएपछि रकम निर्माण कम्पनीको खातामा जान्छ।

हामीलाई उपलब्ध विवरण अनुसार अहिलेसम्म बाँकी काममा, सेक्युरिटी बिल्डिङ, ग्रास सोडिगं, वाटर रिजर्भ ट्याङ्क, एसेस रोड पासिंग गेट र मिटिङ-ग्रिटिङ सेड बन्न बाँकी छ।

कामै नसकी किन हस्तान्तरण गरेर लिएको त भन्ने उकेराको प्रश्नमा प्राधिकरणका उपमहानिर्देशक निरौलाले पत्रमा एक वर्षमा काम सक्ने भनेकाले र चिनियाँ विदेश मन्त्री आएको मौका पारेर हस्तान्तरण गरिएको तर्क गरे।

उकेरालाई प्राप्त सूचना अनुसार रकम रोकिनुको कारण चिनियाँ कम्पनीले काम नसकिएकाले मात्र भुक्तानी रोकिएको देखिएन। विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीमाथि अनुसन्धान सुरु गर्दै बयान लिनु पनि कारण देखियो।

अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कागजात पोखराकै कार्यालयमा छापा हानेर अनुसन्धान थालेपछि चिनियाँ कम्पनीलाई दिनु पर्ने रकम रोकिएको देखिन्छ।

अख्तियार विशेष स्रोतका अनुसार अधिकारी ४ दिनदेखि लगातार विमानस्थलमा भ्रष्टाचार भएको आरोपमा बयान दिन अख्तियार धाइरहेका छन्। 

सम्बन्धित समाचार

७ चैत, २०८०, १८:५५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।