मुगुका खेतबारीमा भित्रियो आधुनिक प्रविधि: हाते ट्र्याक्टरतर्फ आकर्षण बढ्दो, माग धान्न बजेटको अभाव
मुगु : हिमाली जिल्ला मुगुका कृषकहरू आधुनिक कृषि यन्त्रतर्फ आकर्षित भएका छन्। राज्यबाट अनुदान पाउन थालेपछि कृषकहरूले खेतबारी जोत्न गोरुको विकल्पमा हाते ट्र्याक्टर प्रयोग गर्न थालेका हुन्।
पछिल्लो समय खेती गर्ने तरिका बदलिएसँगै मुगुको मुख्य ‘अन्न भण्डार’ मानिने खत्याड गाउँपालिका क्षेत्रका खेतीयोग्य जमिनहरूमा आधुनिक प्रविधिको प्रयोग बढेको छ।
पछिल्ला वर्षहरूमा प्रधानमन्त्री राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइबाट ५० प्रतिशत अनुदान र ५० प्रतिशत कृषकको लगानीमा उपकरणहरु भित्र्याइएको हो। आधुनिक यन्त्रको प्रयोगले खेती गर्दा श्रम र जनशक्ति कम लाग्ने तथा उत्पादन खर्चसमेत जोगिने भएकाले कृषकहरू उत्साहित भएको स्थानीय कृषक कर्णबहादुर बानियाँले बताए।
कृषि प्रविधिको बढ्दो मागलाई सम्बोधन गर्न वडा तहबाटै पहल भइरहेको खत्याड गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष गोविन्दप्रसाद सत्यालले बताए।
कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रममा १० लाख बजेट अन्तरगत (कृषि यान्त्रीकरण)कार्यक्रम अनुसार कार्यालयबाट ५० प्रति अनुदान विभिन्न उपकरणहरु वितरण गरिएको हो।
मिनी टेलर १५ वटा, कम्वाईन मिल ६ थान, चाप कटर २ थान, झार काट्ने मेशिन २ थान, डिजिटल तराजु २ थान, बोरा सिलाउने मेसिन ३ थान गरी मझौला खालका ३० वटा उपकरण र महिलो चौमासिकमा ४५ पिस आर सिकेचर मेशिन बितरण गरिएको छ।
आधुनिक कृषियन्त्र वा उपकरणहरुको माग बढेपनि सिमित बजेटका कारण माग धान्न नसकिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुगुका प्रमुख तेज विक्रम मल्लले बताए।
जेठ ९, २०८३ शनिबार १२:१०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।