रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्न अदालतको अनमुति
काठमाडौं : कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गर्न अनुमति दिएको छ। यो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत प्रतिवादी छन्।
जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार सरकारी वकील कार्यालयको मागबमोजिम अभियोगपत्र संशोधन गर्न अनुमति दिँदै सहकारी ठगीको मुद्दालाई मात्र निरन्तरता दिने आदेश दिएको हो।
गोविन्द अधिकारीसमेतको जाहेरीले नेपाल सरकार वादी भई चलाइएको मुद्दामा जिल्ला सरकारी वकील कार्यालय, कास्कीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोगपत्र संशोधनका लागि निवेदन दिएको थियो।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले प्रतिवादीहरू जितेन्द्र बाबु (जीबी) राई र छबिलाल जोशीलगायतका विरुद्धमा दायर भएका थप तथा पूरक अभियोगपत्रहरूबाट संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउन आदेश दियो।
अदालतले यसअघि २०८० पुस ३० गते प्रतिवादी रवि लामिछानेको हकमा भएको निर्णयलाई आधार मान्दै अन्य प्रतिवादीहरूको हकमा पनि सोहीबमोजिमको त्रुटि सच्याउने निर्णय गरेको छ। आदेशमा भनिएको छ, "सहकारी ठगीतर्फको अभियोग दाबी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको अभियोग दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गरिदिएको छ।"


जेठ ८, २०८३ शुक्रबार १७:५०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।