काठमाडौं महानगरको बदमासी : पर्यटकसँग शुल्क उठायो, तर हनुमानढोका दरबार सङ्ग्रहालयलाई बुझाएन थप तीन करोड

काठमाडौं महानगरको बदमासी : पर्यटकसँग शुल्क उठायो, तर हनुमानढोका दरबार सङ्ग्रहालयलाई बुझाएन थप तीन करोड

काठमाडौं : काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश गरेबापत विदेशी पर्यटकबाट उठाएको बढेको सेवा शुल्क सङ्ग्रहालय विकास समितिलाई बुझाएको छैन।

महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनअनुसार महानगरपालिकाले बढेको अनुपातमा बुझाउनुपर्ने ३ करोड ७ लाख ७२ हजार रुपैयाँ समितिको खातामा जम्मा नगरेको पाइएको हो।

आर्थिक वर्ष २०८०/८१ देखि विदेशी पर्यटकका लागि हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश शुल्क बढाइएको थियो।

यसअघि सार्क राष्ट्रका पर्यटकसँग १५० रुपैयाँ र अन्य देशका पर्यटकसँग ७५० रुपैयाँ लिने गरिएकामा हाल बढाएर सार्क राष्ट्रका पर्यटकसँग ५०० रुपैयाँ र अन्य देशका पर्यटकसँग १ हजार रुपैयाँ शुल्क लिने गरिएको छ।

महानगरपालिकाले आफ्नो आर्थिक ऐन, २०८१ को अनुसूची १३ मा यो बढेको शुल्क समावेश गरेको छ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति गठन आदेश २०६७ को दफा ४ (घ) बमोजिम सङ्ग्रहालय प्रवेश शुल्क निर्धारण र असुल गर्ने अधिकार समितिको हुने व्यवस्था छ।

सोही अनुसार २०६८ कात्तिक १३ गतेको निर्णयअनुसार महानगरपालिकाले एकल टिकट प्रणालीमार्फत पर्यटक शुल्क उठाउने सहमति भएको थियो।

उक्त सहमतिअनुसार सार्क राष्ट्रका पर्यटकबाट उठेको प्रतिटिकट रकममध्ये ५० रुपैयाँ र अन्य देशका पर्यटकबाट उठेको रकममध्ये २५० रुपैयाँ महानगरपालिकाले समितिलाई बुझाउनुपर्ने व्यवस्था छ।

महानगरपालिकाले पर्यटकबाट लिने शुल्क बढाए पनि सोही अनुपातमा समितिलाई बुझाउनुपर्ने रकममा भने वृद्धि गरेको छैन।

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनका अनुसार महानगरपालिकाले बढेको अनुपातमा २०८२ असार मसान्तसम्मको कुल ३ करोड ७ लाख ७२ हजार रुपैयाँ पर्यटकीय सेवा शुल्क समितिको खातामा जम्मा गरेको छैन।

जेठ ८, २०८३ शुक्रबार १३:३०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।