काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन आह्वान, जेठ १७ मा परीक्षा

काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन आह्वान, जेठ १७ मा परीक्षा

काठमाडौं : काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।

महानगरपालिकाको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका निजी शिक्षण संस्थाहरूमा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीहरूका लागि परीक्षा प्रणालीमार्फत छनोट गरिने जनाएको हो।

इच्छुक विद्यार्थीहरूले आगामी जेठ १ गते बिहान १०:०० बजेदेखि जेठ १० गते राति ११:५९ बजेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन्।

आवेदन महानगरपालिकाको आधिकारिक वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत दिन सकिने व्यवस्था मिलाइएको छ।

छात्रवृत्तिका लागि लिइने परीक्षा २०८३ जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने सूचनामा उल्लेख छ।

विषयगत अङ्कभार, विद्यालयगत छात्रवृत्ति कोटा, र परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण काठमाडौं महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा उपलब्ध गराइएको छ।

महानगरपालिकाले तोकिएको समयभित्रै अनलाइन आवेदन दिन सम्बन्धित विद्यार्थी र अभिभावकहरूमा अनुरोध गरेको छ।

वैशाख ३०, २०८३ बुधबार ०८:३१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।