चलचित्र जाँच समितिबाट हट्यो ‘सेन्सर’ शब्द, अब फिल्मका दृश्य नकाटिने दाबी

चलचित्र जाँच समितिबाट हट्यो ‘सेन्सर’ शब्द, अब फिल्मका दृश्य नकाटिने दाबी
समिति सदस्य मनोज पण्डित

काठमाडौं : नेपाली चलचित्रकर्मीहरूबाट लामो समयदेखि आलोचित हुँदै आएको चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को अंग्रेजी नाम परिवर्तन गरिएको छ।

अब यसलाई ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ को सट्टा ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ नामकरण गरिएको छ। यससँगै अब प्रदर्शन अनुमति पत्रमा ‘सेन्सर’ शब्द हटाइएको छ।

चलचित्र जाँच समितिको कार्यशैलीको विरोध गर्दै आएका चलचित्रकर्मी मनोज पण्डित हालै यसको सदस्यमा नियुक्त भएका छन्।

उनको नियुक्तिपछि प्रदर्शनको तयारीमा रहेका दुई चलचित्र ‘मितज्यू’ र ‘काजी’ लाई नयाँ नाम (सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी) उल्लेख गरिएको प्रमाणपत्र प्रदान गरिएको छ।

समितिका सदस्य पण्डितका अनुसार अब चलचित्रका दृश्य वा संवादमा ‘बिप’ राख्ने वा कैँची चलाउने (दृश्य काट्ने) कार्य गरिने छैन। यसको सट्टा चलचित्रको प्रकृति हेरेर वर्गीकरण (ग्रेडिङ) सहितको प्रमाणपत्र दिइनेछ।

वयस्कहरूका लागि मात्र उपयुक्त सामग्री भए ‘एडल्ट सर्टिफिकेट’ र सबैले हेर्न मिल्ने भए ‘युनिभर्सल सर्टिफिकेट’ दिइने र यसको कार्यान्वयनका लागि हलहरूमा अनुगमनलाई कडाइ गरिने उनले बताए।

साथै, चलचित्र जाँचका क्रममा निर्माताहरूले बोर्डका सदस्य तथा कर्मचारीलाई खाजा खुवाउनुपर्ने विगतको बाध्यता समेत अन्त्य गरिएको पण्डितको दाबी छ।

समितिको यो नयाँ कदमलाई कतिपय चलचित्रकर्मीले सकारात्मक रूपमा लिएका छन्। चलचित्र ‘मितज्यू’ का निर्देशक अनिल बुढा मगरले यसपटक प्रमाणपत्र लिन निकै सहज भएको बताए।

यसअघि आफ्नो चलचित्र ‘घरज्वाइँ’ पास गराउँदा निकै सास्ती खेप्नुपरेको स्मरण गर्दै उनले अहिलेको सहज प्रक्रियाका लागि धन्यवाद दिएका छन्। यद्यपि, नाम परिवर्तनको यो विषयलाई लिएर सबै चलचित्रकर्मी सन्तुष्ट भने देखिएका छैनन्।

चलचित्र निर्देशक केपी पाठकले नयाँ अंग्रेजी नाम ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ प्रति व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “लौ, चलचित्रकर्मी साथीहरू, अब एक्जाम (परीक्षा) दिने तयारी गरौँ।”

विगतमा सेन्सर बोर्डको नीतिमाथि प्रश्न उठाउँदै आएका पण्डित समितिमा आएपछि सुरु भएका यी परिवर्तनहरू व्यावहारिक रूपमा कत्तिको प्रभावकारी र दीर्घकालीन हुन्छन् भन्ने कुरा आगामी दिनमा स्पष्ट हुँदै जाने देखिन्छ।

जेठ ८, २०८३ शुक्रबार ०७:३२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।