कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरू हुने
काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी शैक्षिक सत्रका लागि कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा विगतको तुलनामा छिटो सार्वजनिक भएपछि मन्त्रालयले पठनपाठनको तालिका पनि अगाडि सारेको हो।
मन्त्रालयको निर्णयअनुसार देशभरका विद्यालय र स्थानीय तहहरूमा यसबारे जानकारी गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिइएको शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।
यससँगै अब सबै विद्यालयले असारको पहिलो सातादेखि नै कक्षा ११ को नियमित कक्षा सञ्चालन गर्नुपर्नेछ।
एसईईको नतिजा प्रकाशन र नयाँ कक्षाको आरम्भबारे विद्यार्थी तथा अभिभावकहरूमा रहेको लामो समयदेखिको अन्यौलता यो निर्णयसँगै हटेको छ।
शैक्षिक सुशासन कायम गर्दै पठनपाठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन समयमै कक्षा सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ।
असार १ गतेदेखि नै कक्षा ११ को पठनपाठन सुरु गर्दा विद्यालय शिक्षाको समग्र गुणस्तरमा सकारात्मक प्रभाव पर्ने मन्त्रालयको दाबी छ।
साथै, यसले विद्यालय तहका सबै कक्षाहरूको शैक्षिक क्यालेन्डरमा एकरूपता ल्याउन र तोकिएको समयमै पाठ्यक्रम पूरा गर्न मद्दत पुग्ने मन्त्रालयको विश्वास छ।
जेठ ७, २०८३ बिहीबार १३:०३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।