ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरानसँग सम्बन्धित कूटनीतिक प्रयासलाई लिएर मतभेद भएको छ।
मंगलबार ट्रम्प र नेतन्याहुबीच इरानसँगको बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको विषयलाई लिएर निकै तनावपूर्ण फोनवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।
इरान संकट समाधानका लागि कूटनीतिक बाटो रोज्ने कि सैन्य, भन्ने विषयमा दुई नेताबीच तीव्र मतभेद देखिएको हो। इरान संकट समाधानका लागि दुवै देशको दृष्टिकोणमा रहेको भिन्नाभिन्नै बुझाइलाई प्रष्ट पारेको अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।
‘अपरेशन स्लेजह्यामर’ र ट्रम्पको यु-टर्न
सिएनएनका अनुसार पछिल्ला केही दिनयता दुई नेताबीच लगातार संवाद भइरहेको थियो। यसअघि आइतबार भएको कुराकानीमा राष्ट्रपति ट्रम्पले हप्ताको सुरुवातमा नै इरानमाथि नयाँ र लक्षित हवाई आक्रमण सुरु गर्न लागेको जानकारी नेतन्याहुलाई दिएका थिए। अमेरिकाले यस नयाँ सैन्य अभियानको नाम 'अपरेशन स्लेजह्यामर' राख्ने तयारी समेत गरिसकेको थियो।
तर, उक्त कुराकानीको २४ घण्टा नबित्दै ट्रम्पले आफ्नो निर्णय बदले। कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स लगायतका खाडी मुलुकहरूको आग्रहपछि ट्रम्पले मंगलबारका लागि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरे।
कूटनीतिक पहलमा खाडी मुलुक र पाकिस्तान
सैन्य कारबाही रोकिएसँगै खाडी देशहरूले ह्वाइट हाउस र पाकिस्तानी मध्यस्थकर्ताहरूसँग मिलेर कूटनीतिक वार्ताको खाका तयार पार्न सघन छलफल छलफल गरिरहेका छन्।
यसै सन्दर्भमा बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, "हामी इरान मामिलाको अन्तिम चरणमा छौँ, हेरौँ के हुन्छ। कि त हामीबीच एउटा सम्झौता हुनेछ, कि त हामी केही अप्रिय (नराम्रो) कदम चाल्न बाध्य हुनेछौँ। तर आशा गरौँ, त्यस्तो परिस्थिति आउने छैन।"
ट्रम्प कूटनीतिक समाधानको सम्भावनाप्रति खुला देखिए पनि आवश्यक परे सैन्य विकल्प पनि कायमै राख्ने सोचमा छन्।
नेतन्याहुको असन्तुष्टि
अमेरिकाले सैन्य कारबाही रोकेर कूटनीतिक बाटो रोजेपछि इजरायली प्रधानमन्त्री नेतन्याहु भने निकै आक्रोशित र रुष्ट बनेका छन्। इरान विरुद्ध सधैँ आक्रामक सैन्य नीतिको वकालत गर्दै आएका नेतन्याहुले कारबाहीमा ढिलाइ गर्दा इरानलाई नै फाइदा पुग्ने तर्क ट्रम्प प्रशासन र इजरायली स्रोतहरूसमक्ष राखेका छन्।
मंगलबार ट्रम्पसँगको करिब एक घण्टा लामो कुराकानीका क्रममा नेतन्याहुले प्रस्तावित आक्रमण रोक्नु ट्रम्पको ठूलो गल्ती भएको भन्दै पूर्वनिर्धारित योजनाअनुसार नै सैन्य कारबाही अघि बढाउन ट्रम्पलाई दबाब दिएका थिए।
इजरायली अधिकारीहरूका अनुसार अहिले ट्रम्प वार्ता र सम्झौताको पक्षमा देखिएका छन् भने नेतन्याहुले अमेरिकाबाट तुरुन्तै सैन्य एक्सनको अपेक्षा गरिरहेका छन्।
राष्ट्रपति ट्रम्पले भने कूटनीतिक समाधानको सम्भावनाप्रति खुला रहेको तर आवश्यक परे सैन्य विकल्प पनि कायम रहेको संकेत दिएका छन्। उनले स्थिति सम्झौता र द्वन्द्वको बीचमा रहेको टिप्पणी गरेका छन् ।
हालसम्म ह्वाइट हाउस र इजरायली प्रधानमन्त्री कार्यालयले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
जेठ ७, २०८३ बिहीबार ११:११:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।