प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्रीले तीन विधेयक पेश गर्ने
काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक विहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रधानमन्त्री, गृह मन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट तीनवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए।
ती विधेयकहरूमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ रहेका छन्।
त्यसैगरी, अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२' माथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ।
उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि सोही बैठकमा अर्थ मन्त्री वाग्लेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
यो कार्यसूची सम्भावित भएकाले बैठकको समयमा केही हेरफेर हुन सक्ने सचिवालयले जनाएको छ।
जेठ ७, २०८३ बिहीबार ०९:४३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।