आजको मौसम : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो। आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ।
साथै मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू-भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एकदुई स्थानहरूमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने मधेसलगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
जेठ ७, २०८३ बिहीबार ०७:१३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।