‘युनिभर्सल सर्टिफिकेट’ पाएर मैदानमा उत्रिए दया र सौगात, विपिनको ‘काजी’सँग टक्करको तयारी

‘युनिभर्सल सर्टिफिकेट’ पाएर मैदानमा उत्रिए दया र सौगात, विपिनको ‘काजी’सँग टक्करको तयारी

काठमाडौं : यो साता नेपाली चलचित्र बजारमा दुई चर्चित कलाकारहरूको फिल्म भिड्दैछन्। एकातर्फ नेपाली पर्दाका हिट जोडी दयाहाङ राई र सौगात मल्लको ‘मितज्यू’ छ भने अर्कातर्फ भर्सटाइल अभिनेता विपिन कार्कीको ‘काजी’।

यो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘मितज्यू’ ले सेन्सर बोर्डबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाउँदै मैदानमा ढुक्कसँग उत्रिने बाटो खुला गरेको छ।

फिल्मले क्लिन चिट पाएपछि निर्देशक अनिल बुढामगरको खुसीको ठेगान छैन। उनले सामाजिक सञ्जालमा खुसी साटेका छन्।

अघिल्लो फिल्म ‘घरज्वाइँ’ को समयमा सेन्सर बोर्डको झमेलाले रुनु परेको सम्झिँदै अनिलले यसपालि भने ‘मितज्यू’ले सजिलै सर्टिफिकेट पाएकोमा राहत महसुस गरेका छन्। अब यो फिल्म हजुरआमादेखि नाति-नातिनीसम्म सबैले सँगै बसेर हेर्न पाउनेछन्।

यो फिल्मको अर्को ठूलो आकर्षण हो- डान्स इन्डिया डान्सकी विजेता तेरिया फौजा मगरको डेब्यु। डान्सिङ फ्लोरमा तहल्का मच्चाएकी तेरियाले पर्दामा कस्तो जादु चलाउने हुन्, त्यो हेर्न दर्शक निकै उत्साहित छन्।

ग्रामीण परिवेश, मित्रता र भावनाको कथामा बुनिएको यो फिल्ममा दया र सौगातका साथमा पुस्कर गुरुङ, शिशिर वाङ्देल जस्ता दिग्गज कलाकारको लर्को छ।

बक्स अफिसमा यो शुक्रबार ‘मितज्यू’ का लागि निकै चुनौतीपूर्ण हुने देखिन्छ। यसको सिधा टक्कर विपिन कार्कीको प्रतीक्षित फिल्म ‘काजी’ सँग हुनेछ।

एकातिर दया-सौगातको क्रेज, अर्कोतिर विपिनको अभिनयको जादु! हलमा कसले बढी 'सिट' पाउने र कसले दर्शकको मन जित्ने भन्ने होडबाजी सुरु भइसकेको छ।

हाल ‘मितज्यू’ले देशभरका हलमा २६ शोसहितको सुरुवाती अग्रिम बुकिङ पाएको छ।

बजारमा ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ जस्ता गीतले राम्रै चर्चा बटुलिरहेका बेला, पहिलेदेखि नै चलिरहेका ‘लालीबजार’, ‘परालको आगो’ र ‘मालती मंगले’ ले पनि ‘मितज्यू’ को कमाइमा कत्तिको धक्का पुर्याउने हुन्, त्यो भने हेर्न बाँकी नै छ।

जेठ ६, २०८३ बुधबार ०९:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।