वित्तीय सुशासनमा महाभारत गाउँपालिकाको ह्याट्रिक, लगातार तेस्रो वर्ष पनि शून्य बेरुजु
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका यसवर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ।
आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षकको प्रतिवेदनअनुसार पालिकाको कुल १ अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गर्दा कुनै पनि बेरुजु नदेखिएको हो।
यसअघिको दुई आवमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकामा पालिकाले यो तेस्रोपटक शून्य बेरुजु बनाउन सफल भएको हो। महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सङ्घीय, प्रदेश र स्थानीय सरकारले बनाएको ऐन, कानुन र गाउँसभाले पारित गरेको बजेटलाई कार्यान्वयन गर्दै आउने क्रममा पालिकालाई शून्य बेरुजु बनाउन सफल भएको बताए।
बजेटको उचित कार्यान्वयनसँगै चन्दा, सहयोग नगरेको र सञ्चालन खर्चलाई घटाएर पुँजीगत खर्चलाई बढाउने कुरामा ध्यान दिएर जनप्रतिनिधि एवं कर्मचारीले सामूहिक रूपमा गरेको प्रतिबद्धताअनुसार नियम र कानुनको परिधिमा रहेर काम गरेका कारण निरन्तर रूपमा शून्य बेरुजु पालिका बनाउन सफल भएको उनको भनाइ छ। गाउँपालिकाले लगातार तेस्रोपटक ‘शून्य बेरुजु’ कायम गर्न सफल भई देशभरका स्थानीय तहका लागि उदाहरणीय सन्देश दिन सफल भएको छ।
सार्वजनिक प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको १३ वटा स्थानीय तहमध्ये नगरपालिकातर्फ मण्डनदेउपुर सबैभन्दा कम ०.०५ प्रतिशत अर्थात् कुल लेखापरीक्षण रकमको १० लाख ४९ हजार रुपैयाँ बेरुजु रहेको छ। त्यस्तै गाउँपालिकातर्फ चौँरीदेउराली ०.१८ प्रतिशत रहेको छ।
जिल्लाका पनौती नगरपालिका ३.०४ प्रतिशत, नमोबुद्ध १.३८, धुलिखेल ०.६८, बनेपा ०.७१, पाँचखाल ०.१, बेथानचोक गाउँपालिका ०.५५, तेमाल ०.५, खानीखोला ०.५८, रोशी ०.६२ र भुम्लु गाउँपालिका ०.६८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ।
जेठ ५, २०८३ मंगलबार १६:५२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।