प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सर्वसम्मतले अनुमोदन

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सर्वसम्मतले अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको छ।

मंगलबार बसेको समितिको बैठकले सबै प्रक्रिया पूरा गरी शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशको रूपमा सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो।

समितिले उनीविरुद्ध परेका उजुरीमाथि मंगलबार नै सुनुवाइ गरी अनुमोदनको निर्णय लिएको हो।

यसअघि समितिले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो, जसमा १६ वटा उजुरी परेका थिए। सुनुवाइका क्रममा सांसदहरूले उनीमाथि लागेका आरोप र उजुरीका सम्बन्धमा विभिन्न प्रश्नहरू गरेका थिए।

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

यसअघि न्याय परिषद्ले पठाएका ६ जना सम्भावित उम्मेदवारहरूको सूचीमध्येबाट संवैधानिक परिषद्ले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको थियो।

जेठ ५, २०८३ मंगलबार १६:२७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।