सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारद्वारा दिउँसै लालटिन बालेर प्रदर्शन
काठमाडौं : नेपाल बार एशोसिएसनले मंगलबार आफ्नो कार्यालय अगाडि अगाडि दिउँसै लालटिन बालेर सर्वोच्च अदालत प्रशासनविरुद्ध प्रदर्शन गरेको छ।
सर्वोच्च अदालत प्रशासनले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध दायर रिट दर्ता गर्न अस्वीकार गरेपछि न्यायको खोजी भन्दै बारले दिउँसै लालटिन बालेर विरोध प्रदर्शन गरेको हो।
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध कानुन व्यवसायीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। तर, सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ (दर्ता अस्वीकार) गरिदिएको थियो।
सर्वोच्च प्रशासनले रिट दरपीठ गरिदिएपछि मबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ती सबै रिट दर्ता गर्न आदेश दिएकी थिइन् । तर, अदालत प्रशासनले रिट दर्ता गरेको छैन ।
सर्वोच्च अदालतमा हालै देखिएको संस्थागत विवाद र तनावको विरोधमा कानुन व्यवसायीहरूले दिउँसै लालटिन बालेर प्रदर्शन गरेका हुन्।
सर्वोच्च अदालतका कर्मचारीहरूले न्यायालयभित्रै 'समानान्तर प्रशासन' सञ्चालन गरिरहेको बारको आरोप छ।
नेपाल बार एशोसिएसनले सोमबार नै बैठक राखेर विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो।


संवैधानिक परिषद्ले वरिष्ठतम मिचेर चौथो वरीयताको न्यायाधीशलाई प्रधान्यायाधीशमा सिफारिस गरेको भन्दै नेपाल बारले विरोध गरिरहेको छ।

जेठ ५, २०८३ मंगलबार १५:१८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।