सभामुखलाई पर्चा देखाएर संसद्मै श्रम संस्कृति पार्टीको विरोध
काठमाडौं : श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संसद्प्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा प्लेकार्ड र पर्चासहित विरोध प्रदर्शन गरेको छ।
संसदीय दलका नेता हर्क साम्पाङको नेतृत्वमा रहेका सांसदहरूले मंगलबारको बैठकमा रोष्टम घेराउ गर्दै विरोध जनाएका हुन्।
बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरू रोष्टम अगाडि पुगेर सभामुख डोलप्रसाद अर्याललाई विभिन्न माग लेखिएका पर्चा देखाएका थिए।
उनीहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नुपर्ने र प्रश्नहरूबाट भाग्न नहुने माग राखेका छन्।
सांसदहरूले प्रदर्शन गरेको पर्चामा ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नै पर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘जनमतको सम्मान गर’, ‘संसद् छलेर अध्यादेश ल्याउन बन्द गर’ र ‘संसदीय जिम्मेवारी वहन गर’ जस्ता नाराहरू लेखिएका थिए।
झण्डै आधा मिनेटसम्म रोष्टममा पर्चा देखाएपछि उनीहरूले ती पर्चा आफ्नै छातीमा टाँसेर बैठकमा सहभागिता जनाएका थिए।

यसअघि सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि विपक्षी दलहरू रुष्ट बनेका थिए।
प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए, जसलाई लिएर श्रम संस्कृति पार्टीले यसअघि बैठकसमेत बहिष्कार गरेको थियो।
संसदीय क्यालेन्डर अनुसार प्रत्येक महिना हुनुपर्ने प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जेठ र असार महिनाको कार्यतालिकामा नभएपछि उक्त पार्टीले संसद्मै विरोध गर्ने रणनीति लिएको हो।
विरोधका क्रममा सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई संसद्को मर्यादामा रहेर आफ्ना कुरा राख्न र पर्चा नदेखाउन निर्देशन दिएका थिए। तर, सांसदहरूले भने प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ नदिएसम्म विरोध जारी रहने संकेत दिएका छन्।
जेठ ४, २०८३ सोमबार ११:२७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।