सुन्धारा कारागारबाट भागेकी सपना श्रीमानको डेराबाट पक्राउ

सुन्धारा कारागारबाट भागेकी सपना श्रीमानको डेराबाट पक्राउ

काठमाडौं : सुन्धारास्थित केन्द्रीय कारागारबाट मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी सपना तामाङ पुनः पक्राउ परेकी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार राति काठमाडौंको असनबाट पक्राउ गरेको हो।

नुवाकोटको विदुर नगरपालिका घर भई २ वटा मुद्दामा जन्मकैदको सजाय काटिरहेकी २५ वर्षीया तामाङ शुक्रबार राति १ बजे कारागारको पर्खाल नाघेर फरार भएकी थिइन्।

उनी असनस्थित श्रीमानको डेरामा लुकेर बसेको अवस्थामा फेला परेकी हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रबिण धितालका अनुसार विशेष सूचनाका आधारमा टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

‘हामीले उनलाई हिजो राति असनबाट पक्राउ गरेका हौँ। श्रीमानको डेरामा लुकेर बसेको अवस्थामा हाम्रो टोलीले उनलाई पक्राउ गरेको हो,’ प्रवक्ता धितालले उकेरासँग भने, ‘अब हामी आज उनलाई आवश्यक प्रक्रिया पूरा गरी कारागार प्रशासनमा बुझाउनेछौँ।’

चोरी र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला भएपछि उनी सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेकी थिइन्।

शुक्रबार राति भुइँमा केही वस्तुहरू ओछ्याएर त्यसको मद्दतले उनले अग्लो पर्खाल नाघेको सिसिटिभी फुटेजमा देखिएको छ। उनी कारागारमा नभेटिएपछि सिसिटिभी फुटेज जाँच गर्दा शुक्रबार राति १ बजेतिर पर्खाल नाघेर भागेको पुष्टि भएको थियो।

तामाङ कारागारबाट फरार भएको यो पहिलोपटक भने होइन।

यसअघि गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको भिडभाडको फाइदा उठाउँदै उनी जेलबाट भागेकी थिइन्। त्यतिबेला दुई महिनापछि पक्राउ परेकी उनी यसपटक भने भागेको तीन दिनमै प्रहरीको फन्दामा परेकी छन्।

जेठ ४, २०८३ सोमबार ०९:००:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।