प्रधानमन्त्री कार्यालयको नाम लिँदै वडा सचिवलाई धम्की, कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी कर्मचारीलाई फोनमार्फत धम्की दिने व्यक्तिमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
दैलेखको दुल्लु नगरपालिका-१३ का वडा सचिव कमल भण्डारीलाई अभद्र भाषा प्रयोग गरी धम्की दिने प्रकाश खड्कामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा शनिबार जारी विज्ञप्तिमा प्रकाशले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिव भण्डारीलाई अभद्र भाषा प्रयोग गरी धम्की दिएको ‘अडियो’ सार्वजनिक भएपछि सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ।
कार्यालयले कानुन तथा स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि भय र त्रास सिर्जना गर्ने, अमर्यादित व्यवहार गर्ने तथा दबाब दिने गतिविधि पूर्णतः निन्दनीय र अक्षम्य रहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्री सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलका पक्षमा दृढ हुनुहुन्छ। साथै, विधिको शासनलाई चुनौती दिने जो-कोहीलाई कानुन बमोजिम कडा कारबाही गर्न कार्यालय प्रतिबद्धता छ।”
त्यसैगरी, कुनै पनि व्यक्तिले प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी फोन वा भेटमार्फत धम्की दिने, बार्गेनिङ गर्ने वा अनुचित दबाब सिर्जना गर्ने प्रयास गरेमा त्यस्ता भ्रममा नपर्न कार्यालयले आम नागरिक तथा सरकारी निकायलाई आग्रहसमेत गरेको छ।
कार्यालयले यस्ता शङ्कास्पद फोन, सन्देश वा संवादहरू आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र काम कारबाही अघि बढाउन सम्पूर्ण सरकारी निकाय, स्थानीय तह तथा राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्दै राज्यको प्रशासनिक गरिमा र संस्थागत साख जोगाउन कार्यालय सदैव सजग र प्रतिबद्ध रहेको जनाएको छ।
जेठ २, २०८३ शनिबार १६:४३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।