काँग्रेस विभाजनको सँघारमा, नेतृत्व नै पार्टी फुटाउन उद्दत: पूर्णबहादुर खड्का

काँग्रेस विभाजनको सँघारमा, नेतृत्व नै पार्टी फुटाउन उद्दत: पूर्णबहादुर खड्का

सुर्खेत :  नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान नेतृत्वको कमजोरीका कारण पार्टी विभाजनको संघारमा पुगेको बताएका छन्। 

शनिबार सुर्खेतमा आयोजित ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै खड्काले वर्तमान नेतृत्वले पार्टीलाई एक ढिक्का बनाउनुको साटो विभाजनतर्फ धकेलेको आरोप लगाएका हुन्।

"नेतृत्व एकताको भन्दा पनि टिम विभाजनतर्फ लागेको देखियो," उनले भने, "यसले पार्टी एकतालाई बल पुर्याउँदैन।" खड्काले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बेहोरेको हारको मुख्य कारण निर्वाचनको मुखमा गरिएको विशेष महाधिवेशन भएको दाबी गरे।

विशेष महाधिवेशनले पार्टीमा उत्साह थप्नुको साटो नेतृत्व कब्जा गर्ने नियत राखेको र त्यसैका कारण चुनावी परिणाम प्रतिकूल आएको उनको भनाइ छ। "इतिहासमै नेपाली काँग्रेस पहिलो पटक लज्जास्पद हार व्यहोर्नुपरेको छ," उनले भने, "चुनावको मुखमा गरिएको विशेष महाधिवेशनले पार्टीलाई ऊर्जा दिन सकेन।"

क्रियाशील सदस्यता अद्यावधिक गर्ने बहानामा पुराना र निष्ठावान कार्यकर्तालाई पाखा लगाउन खोजिएको उनको आरोप छ। डिजिटलाइजेसन र आधुनिकताको नाममा पार्टीमा लामो समय योगदान दिएका नेता कार्यकर्तालाई अपमानजनक रुपमा लखेट्न खोजिएको उनले बताए।

पार्टी अफ्ठ्यारो अवस्थामा पुगेकोले सबै तहका नेता कार्यकर्ताको सुझाव लिन आफूले सबै प्रदेशमा भेला आयोजना गरिएको र तल्लो तहबाट आएको सुझावका आधारमा आफ्नो समूहले आवश्यक निर्णय लिने बताए।

आफूले राजनीतिमा पाउनुपर्ने पद र अवसरहरू पाइसकेकाले अबको आफ्नो लडाइँ व्यक्तिगत स्वार्थका लागि नभई आगामी पुस्ताको राजनीतिक भविष्य सुरक्षित गर्नका लागि भएको उनले स्पष्ट पारे।

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा देउवा समूहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ।

जेठ २, २०८३ शनिबार १६:१९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।