चार कारण देखाउँदै हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागेका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्री शाहले संसद्को निरन्तर अपमान गरेको र लोकतान्त्रिक मूल्यमान्यता लत्याएको भन्दै नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन्।
सांसद साम्पाङले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएर भागेको र संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको गम्भीर आरोप लगाएका छन्।
आफ्नो विज्ञप्तिमा साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्नुका मुख्य ४ वटा कारणहरू बुँदागत रूपमा प्रस्तुत गरेका छन्।
गत वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पढ्दै गर्दा प्रधानमन्त्री शाह बीचमै बाहिरिएको र सभामा नफर्किएको, वैशाख ३० गते संसद्मा नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रतिपक्षले प्रधानमन्त्रीको उपस्थिति माग गर्दा पनि उनी संसद् नआई आफ्नै कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको आरोप लगाएका छन्।
यस्तै वैशाख ३१ गते छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने संसदीय परम्परालाई बेवास्ता गर्दै प्रधानमन्त्री बिनाकारण अनुपस्थित भएको र आजको मितिसम्म संसद्को कुनै पनि बैठकमा प्रधानमन्त्रीले जनतालाई सम्बोधन नगरेको भन्दै उनले राजीनामा माग गरेका हुन्।
विज्ञप्तिमा साम्पाङले प्रश्न गरेका छन्, ‘संसद्बाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ? आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने, लुकेर बस्ने प्रवृत्ति हो यो?’
उनले यस्तो कार्यले खराब नजिर बसाउने भन्दै न्यूनतम कर्तव्य पूरा नगर्ने प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्दा मात्र लोकतन्त्रको सम्मान हुने जिकिर गरेका छन्।
विज्ञप्तिको दोस्रो खण्डमा साम्पाङले सरकारको कार्यशैलीमाथि समेत प्रहार गरेका छन्। उनले प्रधानमन्त्रीले संसद्लाई छलेर 'अध्यादेश' को बाटोबाट सरकार चलाउन खोजेको आरोप लगाएका छन्।
‘सीमा रक्षा गर्न नसक्ने नालायक सरकार गरिब दुःखी जनतालाई आतंकित बनाउन र बेघर बनाएर बेहाल बनाउन बाहेक अर्थोक केही नगरेको’ भन्दै साम्पाङले सरकारको न्यूनतम जिम्मेवारीसमेत पूरा नभएकोमा खेद व्यक्त गरेका छन्। उनले वर्तमान सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको निष्कर्ष समेत निकालेका छन्।
जेठ १, २०८३ शुक्रबार १०:०७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।