कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

विराटनगर : कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६ गतेदेखि सुरु हुने भएको छ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ६ गते अपराह्न ३ बजेदेखि विराटनगरमा बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बैठकले ‘तथ्याङ्क नियमावली, २०८२’ लाई मन्त्रिपरिषद्को भौतिक पूर्वाधार समितिमा पठाउने, ‘कोशी प्रदेश योजना आयोग गठन सञ्चालन आदेश, २०८३’ लाई कानुन न्याय समितिमा पठाउने र आयोगको रिक्त सदस्य पदमा सुनसरी धरानकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए। 

त्यस्तै, सङ्घीय सरकारबाट सरुवा भई आएका सहसचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने र ‘आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८३’ लाई कानुन, न्याय प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता पराजुलीले जानकारी दिए।

वैशाख ३१, २०८३ बिहीबार १६:२२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।