पत्रकारलाई ढाँटेर गुपचुपमा ‘चिरञ्जीवी भव’को शुभमुहुर्त, मेटियो ‘काकु’ र ‘जिग्री’ बीचको पुरानो चिसोपना

पत्रकारलाई ढाँटेर गुपचुपमा ‘चिरञ्जीवी भव’को शुभमुहुर्त, मेटियो  ‘काकु’ र ‘जिग्री’ बीचको पुरानो चिसोपना

काठमाडौं : फिल्म ‘लाजशरणम्’ पछि चिसिएको सम्बन्धलाई सुधार्दै कलाकार दीपकप्रसाद आचार्य (काकु) र कुमार कट्टेल (जिग्री) ले नयाँ फिल्ममा सहकार्य गरेका छन्।  

उनीहरूको चिसिएको सम्बन्ध गत वर्षको हिट फिल्म ‘परान’ को सफलतापछि सुधारिएको थियो। अब यी दुई चर्चित हास्य कलाकारहरू विगतको मनमुटाव बिर्सेर  नयाँ फिल्म‘चिरञ्जीवी भव’मार्फत पर्दामा सँगै देखिँदैछन्।

सक्किगोनीका (काकु) र (जिग्री ब्रो)को उपनामले परिचित यी दुईले सोमबार गुपचुपमा ललितपुरको बंगलामुखी मन्दिरमा फिल्म ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरे। निर्माण पक्षले सुरुमा पत्रकारहरूलाई निम्तो दिए पनि पछि कार्यक्रम स्थगित भएको जानकारी गराएको थियो। तर, पत्रकारहरू नआउने निश्चित भएपछि भने आफ्ना निकटस्थहरूलाई मात्र राखेर सुटुक्क पूजा गरे  र सामूहिक तस्बिर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरे।

शुभमुहूर्त गरिएको फोटोमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझी, प्रियंका कार्कीका अलवा निर्माण टिमको उपस्थिति रहेको छ।

यो फिल्ममा हरिवंशसँगै प्रियंका कार्की, सुवर्ण थापा, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी,हरिश निरौला(कक्रोज),सुमन कार्की, सुस्मिता कुँवरलगायत कलाकार मुख्य भूमिकामा छन्।

यसमा दुवै फिल्मका कलाकारहरुको जमघट देखिन्छ भने कुमार पक्षका कलाकार अलि बढी देखिन्छन्। 

नेपाली फिल्म क्षेत्रमा ठुलो हल्ला नगरी सुटुक्क शुभमुहूर्त गर्ने चलन पछिल्लो समय बढ्दो छ।  हालैको कुरा गर्ने हो भने अभिनेत्री प्रियंका कार्कीको ‘मास्टर्नी’, छक्का पञ्जा टिमको ‘छ माया छपक्कै २’ र चन्द्र पन्तको ‘आ बाट आमा २’ जस्ता फिल्महरूले पनि यसै गरी गुपचुप रुपमा शुभमुहूर्त गरेर सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको  प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको छायांकन जेठ १५ गतेबाट सुरु हुनेछ। फिल्मलाई ४५ दिनभित्र सक्ने लक्ष्य राखिएको छ। 

धनकुटा, सुनसरी र काठमाडौंमा छायांकन हुने यो फिल्मलाई दीपकप्रसाद आचार्यले निर्देशन गर्दैछन्। कुमार कट्टेल ‘जिग्री’ले यो फिल्मको कथा लेखेका हुन्। माघ १ गते फिल्म रिलिज गर्ने बताइएको छ। 

 पत्रकारलाई ढाँटेर मुहुर्त गरिएको यो फिल्मको रिलिज पनि कतै 'गुपचुप' मै हुने त होइन भन्ने चासो सिने क्षेत्रमा देखिएको छ।
 

वैशाख २९, २०८३ मंगलबार १२:४८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।