थाइल्यान्डविरुद्ध नेपालले टस हार्यो

काठमाडौं : घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा थाइल्यान्डविरुद्ध टस हारेको छ।
टस हारेसँगै नेपाली टोलीले पहिला बलिङ गर्ने भएको छ। प्रतियोगितामा थाइल्यान्डविरुद्ध दोस्रो पटक भिड्न लागेको नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ।
प्रतियोगितामा शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहेको थाइल्यान्डविरुद्ध नेपाल पहिलो खेलमा पराजित भएको थियो। त्यस्तै नेपालले नेदरल्यान्ड्सविरुद्धका दुई खेल पनि गुमायो।
सिरिजमा एकले अर्को टीमबीच तीन-तीन खेल खेल्ने कार्यसूची रहेको छ। यस्तोमा नेपालको आजसहित कुल तीन बाँकी खेल फराकिलो अन्तरले जिते मात्र उपाधि जित्नेछ।
जारी सिरिजको पहिलो खेलमा नेपालले ३० जनवरीमा नेदरल्यान्ड्ससँग २० रनले पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको थियो।
दोस्रो खेलमा १ फेब्रुअरीमा थाइल्यान्डसँग ४ विकेटले हारेको नेपाल तेस्रो खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो। आज नेपालको यो चौथो खेल हो। अङ्क तालिकामा नेपाल जितविहीन रहँदै पुच्छारमा छ।
तालिकामा थाइल्यान्ड तीन खेलमा तीनै जीत निकाल्दै ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेदरल्यानड्सले नेपाललाई २ खेलमा हराएर ४ अङ्कका साथ दोस्रो स्थानमा छ।
माघ २२, २०८१ मंगलबार १२:३३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।