कर्णालीमा साढे पाँच हजार शिक्षक अभाव, सबैभन्दा बढी निम्न माध्यमिक तहमा

काँक्रेविहार : कर्णाली प्रदेशमा साढे पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारका अनुसार प्रदेशभर पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त छन्।
दुई हजार नौ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार आठ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन्। हाल विद्यालयका आधारमा १७ हजार तीन सय ८४ दरबन्दी छ।
नौ सय २७ प्राथमिक विद्यालयमा अहिले छ सय ४४ जना शिक्षक अपुग छन्। यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार सात सय ९३ हो भने अहिले आठ हजार एक सय ४९ जना मात्र छन्।
यस्तै एक हजार १४० निम्न माध्यमिक विद्यालयमा दुई हजार छ सय ९९ शिक्षक अपुग छन्। यस तहमा चार हजार पाँच सय ६० शिक्षक हुनुपर्नेमा अहिले एक हजार आठ सय ६१ जना कार्यरत छन्।
यसैगरी, छ सय पाँच माविमा एक हजार सात सय ४९ शिक्षक अपुग छन्। तीन हजार २५ शिक्षक हुनुपर्ने माविमा अहिले एक हजार दुई सय ७६ जना शिक्षक मात्र छन्।
त्यसैगरी दुई सय ५९ उच्च माविमा चार सय ५७ शिक्षक अपुग छन्। यस तहमा एक हजार ३६ शिक्षक हुनुपर्नेमा अहिले पाँच सय ७९ जना कार्यरत रहेको अधिकृत सुनारले बताए।
उनका अनुसार कर्णालीमा विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ। कानुनअनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन, निमावि तहमा चार, मावि तहमा पाँच र उच्च मावि तहमा चार जना हुनुपर्छ।
शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन्। निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र सङ्घीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनुपरेको उनले बताए।
बालविकासदेखि उच्च माविसम्म छ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ।
शिक्षकहरूको अभावले कक्षाकोठा व्यवस्थापन, विषयवस्तु वितरण र पाठ्यक्रम पूरा गर्नमा कठिनाइ आएकोले विद्यार्थीहरूको भविष्य र प्रदेशको दीर्घकालीन विकासमा नकारात्मक प्रभाव पर्ने सम्भावना देखिन्छ।
माघ २२, २०८१ मंगलबार १०:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।