ओलीलाई पुनको प्रश्न- ‘कम्बोडियाको लगानी र स्वीस बैंकको पैसाबारे छानबिन गर्न तयार हो?’

पाल्पा : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले कांग्रेस, एमाले, र माओवादी केन्द्रका नेताहरूमाथि मुछिएका भनिएका अनियमितता प्रकरणको छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
बुधबार, माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशन उद्घाटन गर्दै पुनले हालसालै चर्चामा आएका भ्रष्टाचारका विषयहरूबारे निष्पक्ष छानबिनको माग राखेका हुन्।
प्रधानमन्त्री केपी ओलीले शेरादरबारको विषय माओवादीलाई तर्साउनका लागि ल्याएको बताउँदै उनले अध्यक्ष प्रचण्डले यसबारे छानबिन सुरू गर्न माग गरेको स्मरण गराए।
साथै पुनले ओलीलाई आफ्नो पार्टीका नेतामाथि उठेका प्रश्नको सामना गर्न समेत चुनौती दिएका छन्।
उनले भने, ‘तपाईं आफू र आफ्ना नेताबारे उठेका प्रश्नबारे छानबिन गर्न तयार हुनुहुन्छ? कम्बोडियामा तपाईंको लगानी छ भने प्रश्न उठ्यो, स्वीस बैंकमा पैसा छ भनिएको छ, गिरिबन्धु टी स्टेटमा तपाईंको नाम मुछियो। के तपाईं ममाथि संसदीय छानबिन होस् भनेर भन्न सक्नुहुन्छ? शेर दरबारबारे छानबिन गर्न हामी तयार छौँ।’
विगतमा पनि नेताहरूको छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने गरेको स्मरण गराउँदै, पुनले ओलीलाई त्यसका लागि तयार हो भनेर दोहोर्याएर सोधे।
प्रचण्डले प्रधानमन्त्री रहँदा आफ्नै पार्टीका नेता, कार्यकर्ता, र परिवारमाथि छानबिन गरेको बताउँदै उनले ओली नेतृत्वको सरकारले आफ्नो पार्टी र सत्ता साझेदार कांग्रेसका नेताहरूको भ्रष्टाचार प्रकरणमा कमजोर छानबिन गरेको र प्रतिपक्षीमाथि भने बदला लिन खोज्दै पक्षपातपूर्ण व्यवहार गरेको बताए।
‘कमरेड प्रचण्डले हाम्रा नेता, कार्यकर्ता, समर्थक वा यतिसम्म कि मेरो परिवार र मसम्म पनि कुनै अनियमितता, तस्करी, भ्रष्टाचारजन्य क्रियाकलाप वा राज्य दोहनमा मुछिएको पाइए छानबिन गर्नुस् भन्नुभएको थियो,’ पुनले भने, ‘ओलीजीको पार्टीका मन्त्रीले युवालाई जापान लगेर मानव तस्करीको प्रयास गर्नुभयो। उहाँलाई कारबाही भएन। तर त्यसमा फसाइएका युवा अहिले मानव तीकरीको मुद्धा खेपिरहेका छन्। सहकारी ठगीमा संलग्न लेखा समिति सभापतिकी श्रीमतीलाई लुकाइन्छ, अदालतमा उसै दिन हाजिर गराइन्छ, उसै दिन जमानतमा छाडिन्छ। तर, प्रतिपक्षमा नेताहरुमाथि उस्तै मुद्धामा बदला लिन खोजिन्छ।’
पुनले राज्यका निकायहरूको दुरुपयोग गर्दै प्रतिशोध साँध्ने प्रयासले लोकतन्त्रलाई कमजोर बनाएको र स्वेच्छाचारी प्रवृत्ति देखिएको आरोप लगाए। उनले सरकारको आयु लामो नभएको भन्दै यसले अन्ततः आफैँ कुहिएर झर्ने दाबी गरे।
साथै, मुलुकमा बिचौलिया र स्वार्थ समूहले ठूला ठेक्कापट्टा र राज्य दोहनका लागि चलखेल गरिरहेको भन्दै चिन्ता व्यक्त गरे।
‘हामीले सुशासनका लागि जोखिम मोलेर सुरु गरेको अभियान कुनै हालतमा रोकिँदैन’, पुननले जोड दिए।
माघ १७, २०८१ बिहीबार १०:०७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।