केआइआइटी विश्वविद्यालयको प्रशासनको नेपालमा आलोचना, घटनाको छानबिन र नेपाली विद्यार्थीको सुरक्षामा सांसदहरूको चासो

काठमाडौँ : भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दमनको घटनाको छानबिन र दोषीमाथि कारबाही गराउन कूटनीतिक पहल गर्न सांसदहरूले माग गरे।
सो कलेजमा अध्ययनरत छात्रा लम्सालले आत्महत्या गरेपछि त्यसको विरोधमा सोही कलेजमा अध्ययनरत नेपाली विध्यार्थीहरु आन्दोलित भएका थिए। पछि कलेज प्रशासन र कलेजका सुरक्षा गार्डहरूले आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीमाथि कुटपिट र दुर्व्यवहार गरेका थिए।
मंगलबार प्रतिनिधी सभामा बोल्ने अधिकांश सांसदहरूले सो घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक पहल गरेर घटनाको वास्तविकता पत्ता लगाउन र त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रबन्ध गर्न माग गरेका थिए।
शून्य समयमा बोल्दै सांसद बिना लामाले भारतमा नेपाली छात्रा लम्सालको रहस्यमय मृत्युबारे गम्भिरतापपूर्वक अध्ययन गरी कूटनीतिक पहल अगाडि बढाउन सरकारसँग माग गरिन्। उनले नेपाली विद्यार्थीमाथि भएको बल प्रयोगका सम्बन्धमा समेत सरकारको ध्यानाकर्षण गराइन्।
सांसद शान्ति विकले मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गराउन सरकारको ध्यानाकर्षण गराइन्। उनले बाँकी अध्ययनरत विद्यार्थीको सुरक्षामा सरकारले गम्भीर हुनुपर्नेमा जोड दिइन्।
सांसद शेरबहादुर कुँवरले लम्सालको रहस्यमय मृत्यु प्रकरणको घटनाले विद्यार्थीमाथि भएको अत्याचार नरोकिएको भन्दै उनीहरूको सुरक्षाको माग गरे।
‘त्यहाँ पढ्ने विद्यार्थीको मोबाइल खस्किएको छ। विद्यार्थीलाई अलपत्र पारिएको छ। उनीहरूको सुरक्षित वातावरणका लागि कूटनीतिक पहलमा ढिलाइ नगरियोस्’ उनले भने।
सांसद शिशिर खनालले नेपाली छात्राको मृत्युपछि त्यहाँको विद्यार्थीलाई सहज ढङ्गले न्याय प्राप्त गर्ने वातावरण बनाउन माग गरे।
सांसद सीताकुमारी राना, सीता मिजार, सुदन किराँती, सुशीला श्रीपालि ठकुरी, ज्ञानु बस्नेत सुवेदी, सम्झना थपलिया, सरस्वती सुब्बाले नेपाली छात्राको निधनको घटनाप्रति आवश्यक छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
फागुन ६, २०८१ मंगलबार १९:५८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।